धरा । धरान उपमहानगरपालिका–१५ स्थित केके इन्टरनेसनल स्कुलमा डेबोर्डिङ सुविधा, शुल्क निर्धारण र प्रधानाध्यापकको अभिव्यक्तिलाई लिएर उत्पन्न विवाद सतहमा आएको छ। विद्यालयका प्रधानाध्यापक र अभिभावकबिच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाए पछि विद्यालय प्रशाससनले शनिवार विज्ञप्ति जारी गदैं आपत्ति जनाएको छ ।
घटनाको एकपक्षीय र अपूर्ण विवरण सार्वजनिक गरी प्रधानाध्यापकमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यालयले त्यसको निन्दा र भर्त्सना गरेको छ। विद्यालय प्रशासनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, एकै परिवारका दुई बालबालिकालाई अभिभावकले नियमित विद्यालय समयभन्दा बाहिर (बिहान ७ बजेदेखि साँझ ५ः३० बजेसम्म) छाड्दै आएका थिए। नियमित पठनपाठनबाहेक बिहान–साँझको अतिरिक्त कक्षा, तीन छाक खाना र खेलकुदजस्ता डे–बोर्डिङ सुविधा समावेश हुने भएकाले यसमा अभिभावकको स्पष्ट सहमति र औपचारिकता आवश्यक पर्ने विद्यालयको भनाइ छ। पटक–पटक आग्रह गर्दा पनि औपचारिक सहमति नगरेको तर समयभन्दा अगावै बालबालिका ल्याउने गरिएकाले विवाद सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाको निर्देशनानुसार अतिरिक्त सुविधाहरू इच्छुक अभिभावकलाई मात्र उपलब्ध गराउने व्यवस्थाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालयले अभिभावकलाई कुनै अतिरिक्त सुविधा लिन बाध्य नपारिएको जनाएको छ।
दुर्व्यवहार र भिडियो रेकर्डिङको भर्त्सना
गत सोमबार सम्बन्धित अभिभावक केही बाह्य व्यक्तिहरूसहित विद्यालय प्रवेश गरी छलफलका क्रममा प्रधानाध्यापकको अनुमतिबिना भिडियो रेकर्डिङ गरेको विद्यालयले उल्लेख गरेको छ । सो क्रममा प्रधानाध्यापक हरिसचन्द्र बुढाथोकीलाई उत्तेजित बनाएर खिचिएको भिडियोका केही अंश मात्र सामाजिक सञ्जालमा फैलाइएको विद्यालयको दाबी छ।
प्रधानाध्यापकबाट प्रयोग भएको एउटा अभिव्यक्ति अनुपयुक्त रहेको स्वीकार गर्दै विद्यालयले भनेको छ, “शैक्षिक नेतृत्वबाट सधैँ मर्यादित र संयमित भाषा प्रयोग हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। तर एउटा शब्दलाई मात्र आधार बनाएर सम्पूर्ण पृष्ठभूमि नबुझी प्रधानाध्यापकमाथि दबाब दिने, दुर्व्यवहार गर्ने र चरित्रहत्या गर्ने कार्य सह्य हुन सक्दैन।” घटनापछि सोही दिन प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भई आ(आफ्ना धारणा राखिएको समेत जनाइएको छ।
भोलिपल्ट बिहान ७ बजे नै बालबालिका लिएर आएका अभिभावकलाई सुरक्षा गार्डले नियमित समयमा आउन वा डे–बोर्डिङको औपचारिकता पूरा गर्न अनुरोध गरेपछि उहाँ बालबालिका नछाडी फर्कनुभएको विद्यालयले प्रष्ट पारेको छ ।
सोही दिन विद्यार्थीलाई विद्यालयको बिरामी कक्ष (सिक रुम) मा राखेर परीक्षा लिइएको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई विद्यालयले पूर्णतः निराधार र असत्य भनेको छ। विद्यालयको हाजिरी अभिलेखअनुसार सो दिन ती विद्यार्थीहरू विद्यालयमै अनुपस्थित रहेको स्पष्ट पारिएको छ।
विद्यालय प्रशासनले बालबालिकाको गोपनीयता, सम्मान र शैक्षिक भविष्यमा असर पर्ने खालका अपुष्ट सामग्री र एकपक्षीय विवरणका आधारमा निष्कर्षमा नपुग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोक्ता र सर्वसाधारणसमक्ष अपिल गरेको छ। कानुनी प्रक्रिया र संवादका माध्यमबाटै सबै समस्याको हल खोज्न विद्यालय तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
यता अभिभावक पक्षले विद्यालय प्रशासनले पालिकाको नियमविपरीत थप शुल्क असुल गर्न खोजेको र यसबारे प्रश्न गर्दा प्रधानाध्यापकले दुर्व्यवहार गरेको आरोप लगाउदै प्रअकाे भिडियाे खिचेर सामाजिक सञ्जालमा लगाइएकाे थियाे ।
यता, विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र बुढाथोकीले अभिभावकको दाबीलाई अस्वीकार गर्दै घटनाको सम्पूर्ण पृष्ठभूमि नदेखाई एकपक्षीय भिडियो सार्वजनिक गरिएको बताउनु भएको छ । विवादका क्रममा प्रयोग भएको एउटा शब्दप्रति क्षमायाचना र आत्मसमीक्षा गर्दै प्रधानाध्यापक बुढाथोकीले भन्नुभयो, “शैक्षिक संस्थाको नेतृत्वमा रहेकाले सधैँ मर्यादित र संयमित भाषा प्रयोग हुनुपर्छ भन्नेमा म सचेत छु। भिडियो रेकर्ड गर्दै मलाई नियतवश उत्तेजित बनाइएको थियो। उत्तेजनाका बिच एउटा अभिव्यक्ति अनुपयुक्त निस्किए पनि त्यसैलाई मात्र समातेर सिङ्गो विद्यालय र प्रधानाध्यापकमाथि दबाब दिने, दुर्व्यवहार गर्ने र पूर्वाग्रह राख्ने कार्य न्यायोचित हुन सक्दैन।” ।
विद्यालय प्रशासनले बालबालिकाको शैक्षिक भविष्य, गोपनीयता र मानप्रतिष्ठालाई ध्यानमा राखी सत्यतथ्यका आधारमा मात्र निष्कर्षमा पुग्न र संवादमार्फत नै समस्याको हल खोज्न सर्वसाधारण तथा सरोकारवालासमक्ष अपिल गरेको छ।
प्रदेश सभा सदस्य यसोदा कायस्थले सदनमा धरानको केके इन्टरनेसनल स्कुलको विवादबारे ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ।घटनापछि दुवै पक्षबिच इलाका प्रहरी कार्यालयमा प्रारम्भिक छलफल भइसकेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!