खान युनिस / इजरायल र हमासबिच युद्धविराम भएको एक वर्ष बितिसक्दा पनि गाजामा भोकमरी र कुपोषणको समस्या गम्भीर अवस्थामा रहेको छ । खाद्य सहायता भित्रिन थाले पनि पर्याप्त पोषणयुक्त खाना अभावमा लाखौँ प्यालेस्टिनी प्रभावित छन् ।

गाजाकी ३५ वर्षीया नियाहा अल(मासरी हरेक दिन आफ्ना आठ छोराछोरीसहित परिवारका लागि खाना जुटाउन सामुदायिक भान्सामा घण्टौँ लाइन लाग्नुहुन्छ । मानवीय सहायता संस्थाले सञ्चालन गरेको भान्साबाट प्राप्त खाना नै खान युनिसस्थित पालमा बस्ने उहाँको १० सदस्यीय परिवारको दिनभरको एकमात्र भोजन हो ।

मासरीका श्रीमान हवाई आक्रमणमा दुवै खुट्टाको घाइते भएकाले परिवारका लागि खाद्यान्न जुटाउन असमर्थ हुनुहुन्छ । परिवारसँग भएको थोरै पिठो पनि जोगाएर प्रयोग गर्नुपर्ने अवस्था छ । उहाँका तीनदेखि १४ वर्षसम्मका छोराछोरी फलफूल खाने सपना देख्छन्, तर परिवारसँग किन्ने पैसा छैन ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपीसी)ले अगस्त २०२५ मा गाजामा अनिकाल घोषणा गरेको थियो । इजरायलले उक्त निष्कर्ष अस्वीकार गरेको थियो । युद्धविरामपछि खाद्य आपूर्ति बढ्दा डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घले अनिकालसम्बन्धी घोषणा फिर्ता लिएको थियो ।

यद्यपि, संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका शन ह्युजेसका अनुसार गाजाको खाद्य सुरक्षा अवस्था अझै अत्यन्त गम्भीर छ । जुलाईको तथ्याङ्कअनुसार, करिब २१ लाख जनसङ्ख्यामध्ये १४ लाख मानिस चरम खाद्य असुरक्षामा छन् । तीमध्ये दुई लाख मानिस भोकमरीको अवस्थाभन्दा एक तह मात्र माथि छन् ।

इजरायली रक्षा मन्त्रालयअन्तर्गतको नागरिक मामिला हेर्ने निकाय कोगाटले भने गाजाको मानवीय अवस्था स्थिर रहेको जनाएको छ । खाद्य सामग्री उपलब्ध भए पनि फलफूल, ताजा तरकारी र प्रोटिनयुक्त खानेकुराको अभावले कुपोषणको जोखिम बढाएको छ । मासरीका एक छोरामा सन् २०२५ को अनिकालका बेला कुपोषण देखिएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार भए पनि बालबालिकामा दोहोरिने कुपोषणले दीर्घकालीन शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्ने विज्ञको चेतावनी छ ।

खान युनिसस्थित नासेर अस्पतालको कुपोषण उपचार इकाइकी प्रमुख इस्रा अल(नज्जारले कुपोषणसँग सम्बन्धित रोग तथा प्रतिरक्षा प्रणालीमा देखिने समस्या बढेको बताउनुभएको छ । यसैबिच, मेडिसिन्स दु मोन्डले बिहीबार सार्वजनिक गरेको अध्ययनअनुसार गाजामा गर्भवती तथा स्तनपान गराइरहेका ९३ प्रतिशत महिलामा रक्तअल्पताका लक्षण देखिएका छन् । पर्याप्त विविधतायुक्त आहार पाउने महिलाको सङ्ख्या भने १७ प्रतिशत मात्र रहेको अध्ययनले देखाएको छ ।

दमको समस्याका बाबजुद मासरी दैनिक सामुदायिक भान्सामा पुगिरहनुभएको छ । उहाँका छोराछोरी भने जीर्ण पाललाई बलियो बनाउन प्लास्टिक, गत्ता र फोमका टुक्रा सङ्कलन गर्छन् । आफ्ना बालबालिकाले यस्तो दुःख भोग्नुपरेकोमा दुःख व्यक्त गर्दै मासरीले भन्नुभयो, “यो सामान्य अवस्था होइन ।” एएफपी