काठमाडौँ /  नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ । । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा धार्मिक विधिअनुसार घटस्थापना गरी जमरा राखिँएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत आज बिहान ११:४७ बजे रहेको छ। घटस्थापनासँगै नवदुर्गाको पूजा आराधना गर्दै दसैँको धार्मिक अनुष्ठान प्रारम्भ गरिन्छ।

बडादसैँको पहिलो दिन प्रतिपदामा नवदुर्गाको पहिलो स्वरूप देवी शैलपुत्रीको पूजा गरिन्छ। यस दिन तामा वा माटोको कलश स्थापना गरी जौ, मकै र गहुँ छरेर जमरा राख्ने परम्परा छ। त्यसपछि क्रमशः नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ।

दोस्रो दिन द्वितीयामा ज्ञान, तपस्या र वैराग्यकी प्रतीक देवी ब्रह्मचारिणीको पूजा गरिन्छ। तेस्रो दिन तृतीयामा मानसिक शान्ति र साहस प्रदान गर्ने विश्वास गरिएकी देवी चन्द्रघण्टाको आराधना गरिन्छ। चौथो दिन चतुर्थीमा ब्रह्माण्डको सृष्टि गर्ने शक्तिकी प्रतीक देवी कुष्माण्डाको पूजा गरिन्छ।

पाँचौँ दिन पञ्चमीमा भगवान् शिवका पुत्र कुमार(स्कन्द) की माता देवी स्कन्दमाताको पूजा गरिन्छ। छैटौँ दिन षष्ठीमा देवी कात्यायनीको आराधना गरिन्छ। यस दिनदेखि दसैँको चहलपहल थप बढ्दै जान्छ भने विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्न थाल्छ।

सातौँ दिन सप्तमीलाई फूलपातीका रूपमा मनाइन्छ। यस दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा शास्त्रीय विधिअनुसार भित्र्याइन्छ। यसै दिनदेखि सरकारी कार्यालयहरूमा दसैँको सार्वजनिक बिदा सुरु हुने परम्परा छ। सप्तमीमा नवदुर्गाको सातौँ स्वरूप देवी कालरात्रिको पूजा गरिन्छ।

आठौँ दिन महाअष्टमीका अवसरमा देवी महागौरीको विशेष पूजा आराधना गरिन्छ। यस दिन दसैँघर तथा शक्तिपीठहरूमा परम्पराअनुसार पशुबलि दिने चलन छ। बलि नदिनेहरूले कुभिन्डो तथा घिरौँलाजस्ता फलफूल वा तरकारीको प्रतीकात्मक बलि दिने गर्छन्। यसै दिन सवारीसाधन तथा हातहतियारको पूजा गर्ने परम्परा पनि छ।

नवौँ दिन महानवमीका अवसरमा नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा गरिन्छ। यस दिन उद्योग, कलकारखाना, मेसिन तथा विभिन्न औजारको विशेष पूजा गरिन्छ। काठमाडौँको प्रसिद्ध तलेजु भवानी मन्दिर पनि यसै दिन वर्षमा एकपटक सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।

दसौँ दिन विजयादशमीका रूपमा बडादसैँको मुख्य उत्सव मनाइन्छ। यस दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक मान्यताका आधारमा असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा पर्व मनाइन्छ। विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक एकताको प्रतीकका रूपमा रहेको बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र खुसीको सन्देश फैलाउँदै आएको छ।