सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा जेनजी युवाहरूको राजनीतिक आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीप्रति युवाहरूको भरोसा र समर्थन मजबुत बन्दै गएको स्थानीय बताउछन् । “भाषण होइन, परिणाम चाहिन्छ” भन्ने सोच बोकेका जेनजी युवाहरू अहिले खुलेरै भगवती जिताउ अभियानमा सरिक हुन थालेको नेकपा एमाले निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
बर्जु गाउँपालिका–१ की जेनजी युवती सीताकुमारी मेहताको उदाहरणले यो परिवर्तनलाई स्पष्ट देखाउँछ । कांग्रेस पृष्ठभूमि भएको परिवारबाट आएकी मेहता एमाले प्रवेश गरेकी छन् । उहाँ भन्छिन्, “भगवती दिदी सबैको कुरा ध्यान दिएर सुन्नुहुन्छ । महिलाका हकअधिकारका लागि उहाँले गरेको संघर्ष र गरिब–विपन्न वर्गका पक्षमा भएका कामले मलाई उहाँकै नेतृत्व रोज्न प्रेरित गर्यो ।”
यस्तै, दुहबी नगरपालिका–८ का जेनजी युवाहरूले त भगवती चौधरीलाई विजयी बनाउन छुट्टै युवा समूह नै गठन गरेका छन् । उनीहरूका अनुसार भगवती चौधरीले करिब दुई हजार जनालाई रोजगारी दिलाइसक्नुभएको छ । युवालाई प्रविधिमा दक्ष बनाएर घरमै बसेर आम्दानी गर्न सक्ने वातावरण बनाउने उहाँको योजनाले आफूहरू प्रभावित भएको उनीहरू बताउँछन् ।
युवासँगको सहकार्यलाई प्राथमिकतामा राख्दै भगवती चौधरीले चुनावी घोषणा पत्र तयार गर्ने क्रममा पनि निरन्तर युवासँग सल्लाह लिइरहनुभएको छ । उहाँले युवामैत्री घोषणा पत्र ल्याउने प्रतिबद्धता जनाइसक्नुभएको छ ।
आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत युवालाई दक्ष बनाउँदै घरमै रोजगारी सिर्जना गर्ने योजनासहित आफू अघि बढेको नेतृ चौधरीको भनाइ छ ।
“डिजिटल सीप, घरमै रोजगारी” भन्ने नाराले अहिले जेनजी युवामाझ विशेष चर्चा पाइरहेको छ । स्मरणीय छ, अघिल्लो निर्वाचनमा सुनसरी–३ बाट भगवती चौधरीले नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई ५ हजार १ सय ८८ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । अहिले फेरि उही क्षेत्रमा युवाको बढ्दो समर्थनले चुनावी माहोल थप रोचक बन्दै गएको छ ।




















