दार्जिलिङ । भारतस्थित दार्जिलिङको नेपाली साहित्य सम्मेलनको सभाहलमा आइतबार १२औँ इजा स्मृति दिवस भव्य रुपमा सम्पन्न भएको छ । इजा प्रकाशनद्वारा हरेक वर्षझैं यस वर्ष पनि साहित्य, संस्कृति र समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई 'इजा स्मृति सम्मान- २०२५' ले सम्मानसमेत गरिएको छ ।
समारोहको प्रथम चरणमा इजा प्रकाशनकी अध्यक्षा आख्यानकार तथा लोककथाविद् अमला सुब्बा, प्रमुख अतिथि कथाकार तथा इतिहासकार डा. टी.बी. चन्द्र सुब्बा, विशिष्ट अतिथि धरानबाट प्रकाशित ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की र इजा प्रकासनका संस्थापक नविन सुब्बाले सयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम सुरुवात गरिएको थियो । दार्जिलिङको सबैकी छोरी स्व. इजा सुब्बाको र ज्ञानकी अधिष्ठात्री माता सरस्वतीको तस्वीरअगाडि पुष्प अर्पण र माल्यार्पण गरि गायिका सोनु राईको सरस्वति बन्दनासँगै कार्यक्रमलाई संगीतमय बनाइएकाे थियाे । इजा प्रकाशनकी सल्लाहाकार कमला लेप्चाले स्वागत सम्बोधन गरिएको कार्यक्रममा कवि हेमन्त सुब्बाले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण ‘इजा स्मृति प्रतिभा सम्मान’ अन्तर्गत बहुमुखी प्रतिभाशाली बसन्ती शाह र वरिष्ठ संगीतकार तथा गायक राम बिष्टलाई सम्मान गरिएको थियो । ‘इजा स्मृति युवा साहित्य पुरस्कार’ आसमका साहित्यकार सन्तोष रावतको 'ऐन फ्रेङ्कको देशमा' कृतिलाई प्रदान गरिएको थियो । । उहाँ कार्यक्रममा उपस्थित नभए पछि उहाँका पिता बरिष्ठ साहित्यकार ज्ञानबहादुर छेत्रीले पुरस्कार ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा इजा प्रकाशनकी संस्थापक कवि मञ्जुला तामाङ सुब्बाको मुक्तक संग्रह 'अक्षर तरङ्ग को पुनः विमोचन र नुरन राई ‘जुदु’को कथा संग्रह '' जिन्दगीले कुँदेको कथाहरु' को विमोचन गरिएको थियो। मुक्तकबारे साहित्यकार कवि प्रदीप रसाइलीले संग्रहमाथि परिचयात्मक टिप्पणी प्रस्तुत गर्दै कृतिको साहित्यिक पक्ष, विषयवस्तु र सिर्जनात्मक महत्वबारे विस्तृत चर्चा गर्नुभयो। यस्तै कथाकार नुरन राई ‘जुदु’कृत कथा संग्रह जिन्दगीले कुँदेको कथाहरु'कृति माथी गहिरो पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै डा. योगेश खातीले पुस्तकका विषयवस्तु, पात्रनिर्माण, भाषाशैली तथा कथावाचनको प्रभावकारिताबारे आफ्ना मूल्यवान विचार प्रस्तुत गर्नु भएको थियो । ९ पेज लामो टिप्पणी उहाँले सारांशमा व्यक्त गर्नु भएको थियो ।
प्रकाशनकी संस्थापक मञ्जुला तामाङ सुब्बाले आफ्नो छोरीको स्मरण गदैं उपस्थितहरुलाई भावविहल बनाउनु भएको थियो । 'छोरीका लागि एउटा स्मारक बनाउन सक्छे हरेक आमाले ।' - मञ्जुला तामाङ भन्नुभयो --'तर म चाहन्थेँ कि मेरी छोरी बाँचिरहोस् – किताबहरूका पानामा, कविताका हरफमा, र पाठकका आँखा र मुटुमा।' छोरी यति बेला इजा प्रकाशन भएर उदाएकी उहाँले प्रष्ट पार्नु भयो । छोरीको स्मृतिमा सुरु गरिएको प्रकाशनबाट हालसम्म २५ वटा कृति प्रकासित भएका छन् भने दर्जनौ व्यक्ति पुरस्कृति भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सिक्किमका बरिष्ठ सहाित्यकार डा. टी.बी. चन्द्र सुब्बाले साहित्य, संस्कृति र समाजबीचको सम्बन्धलाई मजबुत बनाउन यस्तो कार्यक्रम निरन्तर हुनुपर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले इजा प्रकाशनका संस्थापकलाई उहाँले १९ बर्ष लगाएर लेखिएको २ हजार ३ सय पृष्ठको जातीय वृहत इतिहास विश्वमा मानव मानव सभ्यता' पुस्तक हस्तान्तरण गर्नु भयो ।
यस्तै विशिष्ट अतिथि नेपालका पत्रकार देवेन्द्र कार्कीले इजा प्रकाशन केवल एउटा प्रकाशन संस्था मात्र नभएर एउटा स्मृति भएको उल्लेख गर्नु भयो । आमाले आफ्नी छोरीको आत्मालाई किताबहरूमा बाँचाइरहेको र यो प्रकाशनमार्फत नयाँ पुस्ताका साहित्यकारहरूलाई प्रोत्साहित गरेको बताउनु भयो । 'इजा पुरस्कार स्थापना गरेर मञ्जुला तामाङले साहित्यिक योगदान दिने स्रष्टाहरूको सम्मान गर्ने परम्परासँगै नेपाली साहित्यमा प्रकाशन'भन्ने शब्दलाई मुनाफा होइन, माया र सम्झनासँग जोडिएको संस्थाको रूपमा पुनः परिभाषित गरिएको छ ।'- पत्रकार कार्कीले भन्नुभयो ।
अन्त्यमा मञ्जुला तामाङको शब्द, राजेन्द्र तामाङको संगीत र सोनु राईको स्वरमा इजाको स्मृतिगीत प्रस्तुत गरिएको थियो । प्रकाशनका महासचिव सुनिल राई प्रणामीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष अमला सुब्बाले गर्नु भएको थियो । कार्यक्रममा आसम, तेजपुर, सिक्किम, सिलिगुरी, गान्तोक, नेपाललगायत स्थानबाट विशिष्ट व्प्यक्तिव, कवि, साहित्यकारहरुको उपस्थिति रहेको थियो ।