विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नै प्रकारका हुन्छन् । यस्तै प्रकारका आफ्नो विशिष्ट खालको पहिचान र अवस्था भएको प्रदेश नं. २ पनि हो ।
८ वटा जिल्ला मिलेर बनेको प्रदेश २ पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य स्थल हो । प्रदेश २ सामाजिक विविधता र जनसंख्याको घनत्व अधिक रहे पनि मानव विकास सूचकांकको आधारमा अन्य प्रदेशभन्दा निकै पछाडि रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ ।
राष्टिूय योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर २ मा गरिबी दर उच्च रहेको छ । प्रतिवेदनका अनुसार यो प्रदेशमा ४७.९ प्रतिशत गरिबी रहेको छ । गरिबी, बेरोजगारी र अशिक्षा यस प्रदेशका मुख्य समस्या हुन् ।
यद्यपी विभिन्न समस्याहरूको माझामा पनि प्रदेश २ मा मानवस्रोत, प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना, कृषि, धार्मिक पर्यटनजस्ता थुप्रै सम्भावना छन् । यसलाई उचित व्यवस्थापन गर्न प्रदेश सरकार तत्पर हुनु पर्दछ ।
यहाँ रहेको सम्भाव्यता बुझेर उपयोग गर्न सके र यस प्रदेशमा राज्यले थोरैमात्र मेहनत गर्ने हो भने अन्य प्रदेशको तुलनामा प्रदेश २ बाट पर्यटन व्यवसायले बढी आम्दानी लिन सक्ने अवस्थालाई प्रदेश सरकारले बुझुन पर्दछ ।