धरान / धरान उपमहानगरपालिका वडा नं. १२ स्थित राजमार्ग नजिक अमान बजारमा आजभोली सस्तो बजार लाग्ने गरेको छ ।  स्थानीय नरेश अग्रवाल र मानमोहन श्रेष्ठको नीजि जग्गामा प्रत्येक सोमबार सस्तो बजार लाग्दैं आएको छ । 

भारतको जोगमनीको भाउमा उपभोग्य बस्तुदेखि लता कपडा, भान्साका आइटमहरु पाइने भए पछि बजारमा भीड लागेको छ । धरानका व्यापारीक क्षेत्र पुतली लाइन, देशीलाइन, पुरानो बजार, भानुचोक बजार, पालिका सव्जी बजारमा दसै भित्रिए पनि खासै चहलपहल छैन् । तर अमान बजारमा भने अत्याधिक भीड छ । विभिन्न अफरमा सस्तोमा सामान दिए पछि दसैको किनमेलमा निस्किएका धरानेहरु सोही बजारमा भीड लागेका छन् ।अमान बजारमा भीड लागे पछि अन्य बजारका व्यापारीहरु झिगा धपाउदैं बस्नु परेको बताउछन् । 

विगतमा फुटपाथमा प्रत्येक सोमबार व्यापार थाप्ने व्यापारीहरुले आजभोली भने अमान बजारमा थाप्दैं आएको बताइएको छ । बजारमा मह्गो भाडा तिरेर व्यवसाय गदैं आएका व्यापारीहरुको उजुरीका आधारमा सुनसरी उद्योग वाणिज्य संघ, धरानले उपमहानगरसँगको सहकार्यमा फुटपाथमा व्यापार गर्न रोक लगाएको थियो । हाल भने केही व्यक्तिहरु मिलेर अमान बजारमा प्रत्येक सोमबार हाट लाग्न थाले पछि  विराटनगर, इटहरीलगायत धरानका ठूला होलसेल पसलबाट सामान ल्याएर विभिन्न अफरमा विक्रि वितरण गरिरहेका छन् । बजारका व्यवसायीलाई टाउको दुखाई

विहानदेखि बेलुकासम्म उक्त बजारमा भीड हुने तर महागो भाडा लिएर रेडिमेड, किरानालगायतका पसलमा ग्राहकहरु शुन्य भए पछि धरानका व्यवसायीहरुलाई टाउको दुखाईको विषय भएको छ । ' हामी मासिक ५० हजार भाडा तिरेर राज्यलाई बकाइदा कर बुझाएर पसल थापेका छौं । ग्राहक आउदैंनन् । राज्यलाई समेत कर नतिरी, व्यवसाय दर्तासमेत नगरि व्यापार थापेका छन् ।'- धरान महेन्द्र पथ लाइनका एक रेडिमेड कपडा व्यवसायीले भन्नु भयो- ' सबै इटहरी, विराटनगरबाट आएर ग्राहकलाई लुटेका छन् । यसको अनुगमन कस्ले गर्ने । यहाँका स्थानीय व्यापारीहरु मारमा परेकाे उहाँले बताउनु भयाे । 

सोमबार व्यवसायीहरुले धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघमा मौखिक उजुरी गरेर बजार हटाउनसमेत  माग गरेका छन् । उपमहानगर र उद्योग वाणिज्य संघलाई पटक पटक ध्यानाकर्षण गराइएको तर सुनुवाई नभएको रेडिमेड कपडा व्यवसायी राम शाक्यले बताउनु भयो । आन्तरिक राजस्व कार्यालयसमेत मुकदर्शक भनेको उहाँहरुको भनाई छ ।  उपभोक्ताका लागि बजार उपयुक्त भए पनि व्यवसायीहरुले करको दायरामा आउनु पर्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनु भयो । यता धरान उपमहानगरपालिका वडा नं. १२ को कार्यालयले असोज २३ गतेभित्र व्यवसायीहरु दर्ता गर्न पत्र काटेको छ । बजार परिसरमा  कार्यालयले सूचना टाँसेको छ ।  २३ गतेभित्र दर्ता नगरे व्यवसायी गर्न नपाउने वडाध्यक्ष टङ्कबहादुर राईले जारी गरेकाे  सूचनामा  उल्लेख छ । यस  विषयमा व्यवसायी,  धरान उपमहानगरविच मङ्गलबार छलफल गरिने  सुनसरी उद्याेग वाणिज्य स‌ङ्घका प्रथम उपाध्यक्ष  गाेपाल श्रेष्ठले जानकारी  दिनु भयाे । 

उपभाेक्तालाई राहत

ठूला बजारका व्यवसायीहरुले विरोध गरे पनि उपभोक्ताहरुलाई भने उक्त बजारले राहत मिलेको छ । दसैको मुखमा सस्तोमा सामाग्री पाउदा उनीहरुलाई राहत भएको छ । एक सय रुपैयामा भेष्ट, ३५० मा सट, पाँच सयमा पेन्ट, पाँच सयमा तन्नालगातका सामान विक्रि वितरण भइरहेको छ । ग्रामिण भेगका किसानहरुले आलु प्याज, लसुन, अदुवा, बेसार, कागतीलगायतका समान ल्याएर विक्रि गरिरहेका छन् । धरानका अन्य तरकारी बजार भन्दा निकै सस्तो भएको धरान १५ का विनिता राईले बताउनु भयो । दसैमा सामान्य परिवारले पनि चाहिएको जति समान यस बजारबाट किन्न सकेको उहाँको भनाई छ । 

बजारमा प्रायः जसो तराईमुलका व्यापारीहरुले कराइ कराई आफ्नो सामान बेचिरहेका छन् । विभिन्न अफरहरुको प्रचार गरेर आफ्नो सामान धेरै भन्दा धेरै बेचिरहेका छन् । धेरे सामानहरु इटहरीबाट ल्याएर विक्रि गदैं आएको पाइएको छ । विभिन्न गामेन्टहरुबाट धेरे समय रहेका समानहरु अफरमा विक्रि वितरण भइरहेको छ ।