काठमाडौँ / दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।  

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय

 अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् । 

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार एवं राहतका कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । 

गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । “विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएका छन्”, उहाँले भन्नुभयो । 

काठमाडाै उपत्यकामा आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सात सय ५० जनाभन्दा बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।