विराटनगर । बाल अधिकार रक्षाको लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।  बालबालिकाको अधिकार रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै  भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उहाँले चर्चा गर्नुभयो ।

आज बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले  कोशी प्रदेश सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित भएको उल्लेख गर्नुभएको छ । 

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो  -'प्रत्येक  वर्ष कोशी प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रम गर्दै आएको छ । यो कार्य आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वास दिलाउन चाहान्छु ।' 

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत अहिले बञ्चित हुनु परेको अवस्था रहेको चर्चा गर्दै यस्तो बालबालिकाहरुकोे पढ्न पाउने वातावरण बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।  

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’  भन्ने नाराका साथ आज बालदिवस २०८१ मनाइँदै छ ।