धरान / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २१  सय दिन अगाडी शिलान्यास गरेको इलाका प्रहरी कार्यालय धरान परिसरमा बनेको आधुनिक हिरासत भवनको शनिवार उद्घाटन गर्नु भएको छ । 

२०७५ साल साउन १४ गते तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहदा उहाँले शिलान्यास गरेको हिरासत भवन संयोगवस शनिवार  हाल मुख्यमन्त्रीको भूमिकामा रहदा उद्घाटन गर्ने अवसर पाउनु भएको छ । 

इलाका प्रहरी कार्यालय धरानका तत्कालिन डिएसपी रामेश्वर पौडेलको परिकल्पनामा समुदायको सक्रियतामा आधुनिक हिरासत भवन निर्माण सुरु गरिएको थियो । प्रदेश सरकारबाट मुख्यमन्त्री कार्की कै सकृयतातामा ४० लाख बजेटबाट सुरु गरिएको उक्त भवन करिव २ करोड लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष मीन सुब्बाले जानकारी दिनु भयो । 

महिला पूरुष छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक हिरासत उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले धरानेहरुको खुलेर प्रशंसा पनि गर्नु भयो । उहाँले भन्नुभयो, आफ्नो निर्माण आफै गर्ने आधुनिक सहरको रुपमा धरान चिनिन्छ । जातिय, धार्मिक, सांस्कृतिक पहिचान बोकेको सहर हो । त्यसैले धरान आउन सबैलाई हुटहुटी हुन्छ । उहाँले समुदायको अग्रसरतामा आधुनिक हिरासत भवन बनाएर धरानले इतिहास रचेको बताउनु भयो ।

उहाँले पछिल्लो समय धरानले आफ्नो साँख गुमाउदैं गएको पनि धरानेहरुलाई स्मरण गराउनु भयो । मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न उहाँले आग्रह गनुुभयो ।  धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो   ।   धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको सहर बनाउन प्रदेश सरकार तथा आफु व्यक्तिगत रुपमा हरतरहले लाग्ने समेत प्रतिवद्धता व्यक्ति गर्नु भयो । उहाँले धरानलाई पर्यटनको गेटवे सिटीको रुपमा विकास गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’ 

मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । 

उहाँले धरानको हिरासत भवन देश कै नमुना भएको बताउदैं अव कोशी प्रदेशमा बन्ने नयाँ हिरासत भवन धरान कै डिजाइनमा बनाउन सुरक्षा प्रमुहहरुलाई सुझावसमेत दिनुभयो । हिरासत नागरिकलाई सुधार गर्ने स्थान भएकाले ठिकसँगले सुविधा सम्पन्न बनाउनु पर्ने उहाँको भनाई थियो । 

उहाँले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने पनि बताउनुभएको छ । विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता  प्रकट गर्नु भयो । तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उहाँको भनाई थियो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरि विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’ 

कार्यक्रममा कोशी प्रदेशका संस्थापक सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सभा सदस्य विजयकुमार राई, धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहाललगतायतले मन्तव्य राख्नु भएको थियो । भवन निर्माणका लागि सहयोग गर्नेहरुलाई प्रसंशापत्रसमेत वितरण गरिएको थियो । 

यस्तो छ हिरासत भवन 

hirasatजनसहभागिताम बनाइएको यो हिरासत भवन देश कै नमुना भवन हो । परकल्पनाकार डिएसपी रामेश्वर पौडेलका अनुसार हिरासत सजाय दिने थलोको रूपमा नभई सुधार गर्ने थलोको रूपमा विकास गर्ने गरी भवन तयार गरिएको हो । यो हिरासत सुविधा सम्पन्न छ ।

नयाँ हिरासत भवन २ तलाको रहेको छ । यसको क्षमता १ सय ६० जनाको छ । माथिल्लो तलामा भिआइपी २ वटा थुनुवा कोठा छन् । तल्लो तलामा पुरुष थुनुवाको लागि ३ र महिला थुनुवाको लागि एउटा अलग्गै कक्ष रहेको छ । प्रत्येक थुनुवा कोठा एट्याच ट्वाइलेट, बाथरुम छन् ।  । 

कसुरको प्रकृति, थुनुवाको शारीरिक र स्वास्थ्यको अवस्था हेरेर अलगअलग कक्षमा राख्न उपयुक्त हुने भए पनि पूर्वाधार अभावले सबैलाई एकै ठाउँमा राखिदैं आएको छ । अव भने रोगी, संक्रमित तथा अन्य प्रकृतिका थुनुवाहरुलाई बेग्लै राख्न सकिने छ । 

धरानको हिरासतको हालको अवस्था 

कार्यालयभित्रको २ वटा हिरासत कक्षमा अहिले करिव जना  भन्दा बढि सम्म थुनुवा कोचाकोच अवस्थामा राखिदैं आएको छ । महिला हिरासत कक्ष अलग्गै छ । त्यसको पनि क्षमता धेरै छैन । हिरासतमा ज्यान मुद्दा, बलात्कारजस्ता गम्भीर अभियोग लागेका थुनुवासँगै लागुऔषध प्रयोगकर्ता, कारोबारी र सामान्य घटनाका थुनुवा पनि हुन्छन् । उनीहरूको कसुरको प्रकृतिअनुसार सबैलाई एकै थलोमा राख्न उचित हुँदैन । तर, आवश्यक पूर्वाधार नहुँदा सबैलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ । कतिपय अपराध नगरेका तर अनुसन्धान गर्नु पर्ने मानिसलाई ल्याउदा पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता थियो । अव नयाँ भवन पछि यो समस्या हटेर जाने इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जवेगुले बताउनु भयो । अबको नयाँ हिरासत भवनमा कसुरको प्रकृति अनुसार र थुनुवाको स्वास्थ्य अवस्था हेरेर वर्गीकरण गरी अलगअलग राख्ने व्यवस्था हुने छ ।