धरान  / सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३ दिने महिला उद्यम प्रदर्शनी मेला सुरु भएको छ । संघको ६१औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको प्रदर्शनीको उद्घाटन कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विहीबार गर्नु भयो । 

उद्घाटन गदैं राज्यमन्त्री राईले महिलाहरूलाई सक्षम, सबल र आर्थिक रूपमा आत्मनिर्भर बनाउन कोशेली  प्रदेश सरकारले कोशेली घर निर्माणको योजना अघि बढाएको बताउनु भयो । 

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले स्थगानीय सरकार र प्रदेश सरकारको समन्वय अभावमा धरानमा आएको योजना कार्यन्वयन नभएको बताउनु भयो । उहाँले औद्योगिक ग्राम बनाउने योजनाको प्रतिवेदन नपठाएको र पहल पनि नगरेकोले ती योजना कार्यान्वयन नभएको स्मण गराउनु भएको थियो । 

कार्यक्रममा धरान निवर्तमान नगर प्रमुख तिलक राईले नगर प्रमुख हर्क साम्पाङको काम नै धरानमा सुरु भएको योजनाहरूलाई निरन्तरता दिने भन्दा त्यसलाई गलत रूपमा अर्थ्याएर पूर्व जनप्रतिनिधिलाई दोष दिने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । 

कार्यक्रकममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले युट्युबमा गीत गाएर धरानको विकास नहुने बताउनुभएको छ । सामाजिक सञ्जालका भित्ता रङ्गाएर विकास नहुने बताउदैं उद्योगी व्यवसायीलाई सुरक्षा दिन प्रशासन सधैँ तयार रहेको बताउनु भयो । 

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ र राजेन्द्र साहलाई सम्मानित गरिएको छ । कार्यक्रममा संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ,  धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र विक्रम बेघालगायतले बोल्नु भएको थियो ।

 प्रदर्शनी शनिवारसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुु राखिएको छ ।