भोजपुर / भोजपुर नगरपालिकाले आफ्नो नगरभित्रका विद्यालयका लागि पुस्तक तयार गरेको छ । स्थानीय पाठ्यक्रम भित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने भएको छ ।  

पुस्तक निर्माणका लागि जिम्मेवारी पाएको शिक्षकको टिमले छ महिना लगाएर कक्षा १–५ सम्मको लागि ‘हाम्रो भोजपुर नगरपालिका स्थानीय पाठ्यपुस्तक’ तयार गरेको हो । तयार पारिएको पुस्तक अध्ययनका लागि नगर प्रमुखलाई बुझाइएको शिक्षकको टिमले बताएको छ । 

 भोजपुर नगरपालिकाले पुस्तक तयारीका लागि शिक्षक लालकुमार तामाङ, विष्णुकुमार राई, दुर्गाप्रसाद बराल, लक्ष्मण जोशी, रक्तम राईरहेको टिम बनाएको थियो । टिमका सदस्य शिक्षक रक्तम राईले पुस्तक तयार भएपछि अब नगर क्षेत्रका विद्यालयका लागि सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो “कक्षा १ देखि ५ सम्म लेखन तथा सम्पादन गरिएको एकप्रति पुस्तक पालिकामा बुझाउन सफल भएका छौँ ।” 

यो पाठ्यपुस्तक लेखन जस्तो प्राज्ञिक, प्राविधिक र गहन तथा चुनौतीपूर्ण कार्य पूरा भएको शिक्षक राईले बताउनुभयो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी पालिकाले विद्यालयका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो । 

नगरपालिकाले समयमा पाठ्यपुस्तक तयार नगर्दा विद्यार्थीलाई पढाउन समस्या हुने गरेको गुनासो शिक्षकले गर्दै आएका थिए । 

भोजपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका संयोजक कैलाशकुमार आलेले शिक्षकहरूको टिमले स्थानीय पाठ्यक्रम निर्माण गरेको र सो अध्ययन गरेर अन्तिमरुप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “पाठ्यपुस्तक तयार भएको अब स्थानीय विषय पढाउन सहज हुन्छ, पुस्तकमा सबै क्षेत्रलाई समेट्ने खालका विषय वस्तु समावेश छन् ।”

स्थानीय पाठ्यक्रममा भोजपुरको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहासलगायत विषयलाई समावेश गरिएको बताइएको छ ।