धरान  /  धरान उपमहानगरपालिकाका मेयरसमेत रहनुभएको धरान खानेपानी बोर्डका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले मनोमानी ढंगले खानेपानी शुल्क, जडान तथा मर्ममतलगायत शिर्षकमा अत्याधिक शुल्क बढाए पछि स्थानीय राजनीतिक दलहरुले आन्दोलनलाई चर्काएका छन् । विहीबार उपमहानगर घेराउ गर्दा कर्मचारी कार्यालय प्रवेश गर्न पाएनन् । जसका कारण विहीबार नगरपालिकाको काम ठप्प भयो । प्रहरीले वल प्रयोग गर्दा झडपको स्थितिसमेत आएको थियो । 

शुक्रबार साँझ भानुचोकको मुल सडकमा कोण सभा गरेका छन् ।  १० दलको संयोजनमा भएको विरोध कार्यक्रममा खानेपानी उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको दलहरुले बताएका छन् । कोण सभामा हर्क साम्पाङका प्रवृति, उहाँले फैलाएका अफवापबारे अवगत नेताहरुले गराएका थिए । कोष सभामा विभिन्न राजनीतिक दलहरुका प्रतिनीधीहरुले एसियाली विकास बैकको ऋण तथा खानेपानी महसुलको वृद्धि भएको शुल्कबारे उपभोक्तालाई प्रष्ट पार्नु भएको थियो । 

चुनावका बेला नगर प्रमुख हर्क साम्पाङको दाहिने हात भएर प्रचारमा हिँडेका निकट सहयोगी आरसी साम्पाङले शुक्रवार भानुचौकमा आयोजित १० दलीय कोणसभामा भने ‘नगर प्रमुख हर्क साम्पाङ प्रमुख बन्न लायक नभएको बताउनु भयो । 

राष्ट्रिय साझा पार्टीका प्रवक्ता आरसीले नगरप्रमुख साम्पाङले एकल निर्णयमा गरेका कार्यहरूको बारेमा पटक पटक सल्लाह दिँदा पनि नमानेकाले उनको गलत प्रवृत्ति विरुद्ध आफूले विद्रोह गरेर अहिले खानेपानी शुल्क वृद्धि विरुद्धको आन्दोलनमा आफू पनि सक्रिय सहभागी भएको उहाँको भनाई थियो । 

कोण सभालाई सम्बोधन गदैं नेकपा एमालेका नेता राजमणी निरौलाले धरानको विकास निर्माणमा नगर प्रमुख राईको कुनै पनि भूमिका नरहेको बताउँदै जनतालाई भ्रम छरेर हिडेको बताउनु भयो । उहाँले साम्पाङलाई कुर्सी छाडे भनेको होइन । प्रवृति सुधारेर जनताको भलाईका लागि काम गर भनेर दलहरुले दवाव दिएको बताउनु भयो । 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता मोहन तिगेलाले निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता गरेको प्रमुख सम्पाङले धरानेलाई धोखा दिएको बताउनु भयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रतिनिधिले विनोद कोइराला धराने जनताको नगर प्रमुख राईले अपमान गरेको बताउदैं धरानको वेइज्येत गरेको बताउनुभयो । 

खानेपानीको शुल्क साम्पाङले ९ हजार ९ सय प्रतिशतसम्म बढाएका छन् । २ सय रुपैयाँ तिर्दै आएको शुल्कमा १९ हजार ८ सय रुपैयाँ पुर्‍याएका छन् । खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले कार्यान्वयन नगर्न निर्देशनात्मक पत्र साउन १८ गते नै पठाए पनि कार्यन्वय गरेका छैनन् । 

शनिवार बुद्ध चोक र श्याम चोकमा कोण सभाको तयारी 

राजनैतिक दलहरूले तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिवार धरान १८ स्थित बुद्ध चोकमा र धरान १५ स्थित श्याम चोकमा कोणसभा गर्ने माओवादी केन्द्र इन्चार्ज चोत्लुङले जानकारी दिनुभएको छ । कोण सभामा विभिन्न राजनीतिक दलहरुको नेताले मेयर साम्पाङले गदैं आएको कर्तुतबार सार्वजनिक गर्ने बताइएको छ । खानेपानीको बढेको शुल्क वृद्धि फिता नलिएसम्म आन्दोलन जारी रहने दलहरुले जनाएका छन् । 

आइतबार ११ बजेसम्म स्वघोषित अध्यक्ष तथा खानेपानी बोर्डले वार्ताका लागि लिखित पत्र नपठाए पुनः उपमहानगरपालिकामा घेराउ गर्ने नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले जानकारी दिनुभयो । 

दलहरुले आन्दोलनलाई तिव्र बनाएका छन् । स्वतन्त्र युवाहरुको समुहले पानेपानी महशुल्क काउन्टरमा विहीबार देखि नै तालाबन्दी गरेका छन् । तर मेयर साम्पाङ भने सामाजिक सञ्जालमा अनेकथरी स्टाटस् लेखेर द्वन्द्व चर्काइरहेका छन् ।