काठमाडौं । नेकपा एमालेले प्रदेश अध्यक्षहरुलाई पोलिट व्यूरो सदस्य सरह मान्यता दिएदैं आएकोमा अव भने प्रदेश अध्यक्षहरूको हैसियत घटाएको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ । यसअघि प्रदेश अध्यक्ष अध्यक्षहरूको हैसियत पोलिटब्यूरो सरह हुने व्यवस्था थियो । 

कार्यकारी भूमिका हुने र पोलिटब्यूरो सदस्यको मान्यता पाइने हुँदा प्रदेश अध्यक्षमा निकै आकर्षण बढेको थियो । केन्द्रीय सदस्यबाट राजिनामा दिएर धेरै नेताहरु प्रदेश अध्यक्षमा चुनावसमेत लडेका थिए । 

पार्टीमा पोलिटब्यूरोकै हैसियतमा रहेका गुलाबजंग शाहले कर्णाली अध्यक्षमा उम्मेदवारी दिंएर जित्नु भएको थियो । केन्द्रीय कमिटीमा रहनुभएका कोशी प्रदेशका विनोद ढकाल पनि प्रदेश अध्यक्षमा चुनाव लड्नुभएको थियो । 

जारी गरिएको अन्र्तरापार्टी निर्देशिका(अपानि)बाट भने प्रदेश अध्यक्षहरूको हैसियत केन्द्रीय कमिटी सदस्यभित्र पनि राखिएको छैन । ३५६ सदस्यीय केन्द्रीय कमिटी सदस्यभन्दा पछाडि पदेन सदस्यहरूको सूची तयार पारेर प्रदेश अध्यक्षहरूको नाम समावेश गरिएको छ ।

प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मुनी राखिएको छ । यस अघि केन्द्रीय सदस्य उपस्थित कार्यक्रममा प्रदेश अध्यक्ष प्रमुख अतिथि हुदैं आएका थिए । भने अव प्रमुख अतिथि केन्द्रीय सदस्य नै हुने छन् ।