धरान /  धरानकी सञ्चारकर्मी तथा अभियान्ता सन्जिता धमलालाई अस्पताल भित्र प्रवेश गरि आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ महिलाहरुलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हातभित्र आक्रमण गरेको आरोपमा तत्काल पाँच जना र थप दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको थियो ।  प्रहरीले विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उहाँका समर्थकहरु बिहान(बेलुका भेला हुने ठाउँ हो ।

प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला महिलाहरुको समूहले धमला माथि आक्रमण गरेका थिए । आक्रमणको सिसिटिभी फुटेजसमेत बाहिरिएको छ। मुना राई, फुलमाया मगर, प्रमिला राई, सर्मिला राई ,चन्द्रकला थेबेलाई प्रहरीले पक्राउ हिजो नै पक्राउ गरेको थियो । 

पक्राउ परेकाहरुका विषयमा छानविन भइरहेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

यसरी भएको थियो आक्रमण

सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नु भएको थियोे । उहाँका अनुसार  ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

धमलाले मोबाइल खोस्ने प्रयास समेत गरेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ,  ‘सार्वजनिक क्षेत्र अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठुलो धक्का दिएको छ ।’

 पक्राउ पछि धरानमा तनाव

धरानका मेयर साम्पाङले महिलाहरू पक्राउ परेपछि सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर स्टार्टस नै लेख्नुभएको छ । यस्तै उहाँले त्यसपछि पनि अर्को स्टाटस लेख्नुभएको छ । ‘दमन नगर विस्फोट होला । शान्ति सुरक्षा सबैको जिम्मेवारी हो । आ आफ्नो भूमिकामा इमानदार रहौँ । जय देश ।’ उहाँले लेख्नुभएको छ । 

उहाँले केही समय अगाडी पनि स्टाटस् लेखेर नागरिकलाई झन उचाल्नुकाम गरेको आरोप छ । उहाँले लेख्नु भएको छ-' जब सरकारी निकायले निष्पक्ष काम गर्दैन तब जनता आफै न्याय स्थापित गर्न उतारु हुन्छन् १ यसलाई राज्यबिहिनता भनिन्छ । मेरो आग्रह आ आफ्नो भूमिकामा रहौँ १ इमानदार, न्यायप्रेमी र निष्पक्ष बनौँ  ।'

हर्क साम्पाङका समर्थकहरु पक्राउ परे पछि इलाका प्रहरी कार्यालय घेराउदेखि भानुचोकमा कोणसभा गर्ने काम आज पनि जारी छ । पक्राउ परेकाहरुलाई विना सर्त रिहाईको माग गदैं आएका छन् । 

द्वन्द्वको सुरुवात यसरी भयो

केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी सञ्जीता धमलाले धरानका जनप्रतिनिधिहरुका विषयमा प्रश उठाउनु भएको थियो । त्यस विषयमा मेयर साम्पाङले धमलालाई कार्यालयमा प्रमाण् लिएर आउनु भनी पटक पटक सामाजिक सञ्जालमा लेख्नु भएको थियो । पाँच पटकसम्म लेखे पछि धमला नगर प्रमुखको कार्यालयमा जानु भएको थियो । कार्यालयमा दुई पक्षविच बादविवाद हुदा मेयर साम्पाङले नगर प्रहरी र जनपथ प्रहरी लगाएर जव्वरजस्ती बाहिर निकाल्नुभएको थियो । सामाजिक सञ्जालमा दुई पक्षविच विवादले उग्र रुप लिदैं गर्दा धमलाका विरुद्ध मेयरकै निर्देशनमा उहाँका समर्थकहरुले आन्दोलन गदैं आएका थिए । 

धमलालाई कारावाही नभएको भन्दै धरानका मेयर साम्पाङले कारवाहीका लागि गृह मन्त्रालयमा समेत पत्र पठाउनु भएको थियो । धमलालाले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिनु भएको थियो । 

 यस विषयलाई मेयर आफैले समाधानको बाटो खोज्नुको सट्टा झन द्वन्द्व बढाउने किसिमका अभिव्यक्ति तथा क्रियाकलापले धरान अशान्त बनेको छ । बुधबार अस्पताल मै पुगेर आक्रमण गरे पछि झन धरान अशान्त बनेको छ ।  

पक्राउ गरेको  महिलाहरूलाई नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला प्रहरी प्रशासनले भने झन् कडा गर्ने संकेत दिएको छ । धरानको भानुचोकमा व्यापक प्रहरी परिचालन गरिएको छ । अराजक गतिविधी गर्नेलाई नछाड्ने प्रहरीले चेतावनी दिएको छ । 

सामाजिक सञ्चालमा मेयरको आलोचना

धरान उमपहानगरको मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो पालिकामा भएको समस्या मिलाउनको साटो झन नागरिकलाई उचालेर झगडा झन बढाउन लागेको भन्दैं मेयर साम्पाङको आलोचना पनि भइरहेको छ । एउटा व्यक्तिको पछि लागेर धरानको सद्भाव नै विर्गान लागेको उहाँ माथि आरोप छ ।  मेयरका समर्थकहरुले पनि धमलाकाे आलाेचना गरिरहेका छन् ।