धरान / कोशी प्रदेशको सुनसरी जिल्ला इटहरी–१२, खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको हो ।
बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ हजार ४० रुपियाँको आवेदन गर्नुपर्ने हुन्छ । यस अनुसार २३ हजार ११९ जनाले मात्र यो सेयर पाउने सक्ने छन् । साउन १० गतेभित्र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय र मेरो सेयरमार्पmत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा उत्पादकमूलक ठुलो उद्योगका रूपमा रिलायन्सले २०५४ सालदेखि उत्पादन थालेको हो । सो उद्योगले कटन, एव्रmेलिक्स, पोलिस्टर अल्लोलगायतका कच्चापदार्थ खरिद गरी विभिन्न प्रकृतिका धागो उत्पादन गर्दै आएको छ । ८० प्रतिशत सामान अन्य मुलुकमा निर्यात हुदैं आएको मिल्सका प्रमुख प्रशासक महेशकुमार पोख्रेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको कुल निर्यातमध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्र ४.६१ प्रतिशत योगदान थियो । पोखरेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले आव २०७७/७८ मा ८९ करोड ५० लाख रुपियाँ र आव २०७९/८० मा एक अर्ब एक करोड रुपियाँ नाफा भएको थियो । कम्पनीको प्रतिकित्ता सेयर आम्दानी (इपिएस) आव २०७९/८० मा ५४.३४ रुपियाँ थियो । चालु आवमा भने २.०४ रुपियाँमा झरेको छ ।
उद्योगमा एक हजार ५५० महिलासहित चार हजार जना प्रत्यक्ष रोजगारीमा रहेको र करिब पाँच हजार जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।