धरान /  विवादमा रहेको बराह ग्रूप अफ कम्पनी धरानका अध्यक्ष शिवकुमार लामिछानेले कम्पनी डुबाउन सहकर्मी तथा सञ्चालक समितिमै रहेका व्यक्तिको हात रहेको आसय व्यक्त गर्नु भएको छ । 

कुनै बेला हरेक गतिविधीमा पैसा बाढ्दैं हिड्ने कम्पनी डुबेपछि फरार रहेका अध्यक्ष लामिछानेले एउटा अपिल जारी गरि आफ्नै सहकर्मीबाट धोका पाएको उल्लेख गर्नु भएको छ । बराह ग्रुपका जति पनि संस्था थिए सबै त्यही काम गर्ने सहकर्मीहरुले डुवाएको आरोप लगाउनु भएको छ । उहाँले अपिल जारी गदैं  सहज वातावरण भएमा सबैको रकम फिर्ता गर्ने बताउनु भएको छ । बराह ग्रूपले धरान, काठमाडौं, पोखरा, चितवन, हङकङ र बेलायतमा बराह ज्वेलरी सञ्चालन गर्दै आएको थियो।

यस्तै धरानमा बराह डिपार्टमेन्ट स्टोर प्रालि, बराह चिल्ड्रन वल्र्ड प्रालि, बराह फेमलि किचेन प्रालि, बराह कृषी उपज तथा पशुपालन प्रालि, ह्यापी गो लक्की प्रालि, बराह मोर्टस प्रालि, श्रीपा सुपर मार्केट प्रालि, इन्द्र बराह ट्राभल्स एण्ड टुर प्रालि, बराह भेडेटार मल्टीप्रपा्ज कम्पनी प्रालि, त्यस्तै, धरानमा बराह बचत तथा ऋण सहकारी र काठमाडौंमा अभिमत सहकारी सञ्चालन गरेको थियो। 

धरानको बराह र काठमाडौंको अभिमत सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । दुवै सहकारीका बचतकर्ता आन्दोलनमा छन्। पछिल्लो समय ब्यांकले बराहको नाममा रहेको घरजग्गासमेत लिलामी प्रक्रियामा राखेको छ।

धरानमा बराहका अन्य दलाल प्रवृतिका सञ्चालकले केही व्यक्तिहरुसँग मिलेर बचत फिर्ता नपाएका बचतकर्तासँग उल्टै बराह ज्वेलरी पुनः सञ्चालन गर्ने भन्दै पाँच पाँच हजार रुपैयाँ उठाउन थालेपछि अध्यक्ष लामिछानेले बचतकर्तालाई सचेत गराउँदै फेरि रकम थप नगर्न पनि आग्रह गर्नु भएको छ । उहाँले चलाएकाे कृपा दृष्य  डिजिडकाे इमेलबाट अपिल जारी गरिएकाे हाे ।

बचत निक्षेप रकमको ७० प्रतिशत लगानी गर्न पाउने नियम अनुसार नै सहकारीले बजारमा लगानी गरेको र चलायमान ३० प्रतिशत पूँजी रकम रहेको उहाँको दावी छ । कोभिड १९ महामारीपछि काठमाडौंका केही ठूला सहकारीले रकम अपचलन गरेको समाचार सार्वजनिक भएपछि बराहका बचतकर्ता रकम फिर्ता माग्न लाम लागेका थिए। त्यति वेला कम्पनीमा रहेको ३० प्रतिशत रकम बचतकर्तालाई बाँडेको उहाँले अपिलमा दावी गर्नु भएको छ।

आफूसँग भएको रकम बाँडेको तर लगानी गरेको रकम तुरुन्त नउठ्दा समस्या भएको अपिलमा भनिएको छ । त्यही वेला बचतकर्ता रकम फिर्ता माग्न लाम लागेपछि सहकारी संकटमा फसेको उहाँको भनाई छ।

बराहले इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले निर्माण गरेर सञ्चालन गर्न नसकेको धरान ८, धनकुटे रोडमा रहेको शपिङ कम्प्लेक्स खरीद गरेको थियो। त्यो भवन खरीद गर्न प्राइम ब्यांक धरान शाखाबाट स्वीकृत भइसकेको कर्जा आफ्नै सहकर्मीका कारण अन्तिममा रोकिएकाले पनि कम्पनी संकटमा परेको उल्लेख गर्नु भएको छ । 

यसअघि बराह ग्रूपले लिएको कर्जाको विषयमा प्राइम ब्यांक, धरान र काठमाडौंका सहकारी सञ्चालक समितिका सदस्य र संघर्ष(समन्वय समितिका केही व्यक्तिको मिलेमतोमा आफूलाई धोका भएको उहाँको अपिलमा भनिएको छ। धरानका मेयर हर्क साम्पाङ समेत उनीहरूकै कुरा सुनेर आफ्नो सम्पत्ति रोक्का गरिदिएको उहाँको गुनासो छ । 

‘मैले तिर्नुपर्ने प्राइम ब्यांकको कर्जाको रकम मेयर हर्क साम्पाङले रोक्का गरेको सम्पत्ति फुकुवा गरिदिने भए सबै बुझाउने उहाँले दावी गर्नु भएको छ । 

आफूले तिर्नुपर्ने दायित्व तिरेरै छाड्ने सोच र बृहत् योजनाका साथ रोक्का भएको सम्पत्ति फुकुवाका लागि मेयरदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको उहाँको भनाई छ । 

त्यस्तै, ब्यांकमा रहेको भेडेटार, भानुचोक, कार्कीछाप र भोटेपुलको सम्पत्ति सकार्ने नाममा केही चलाख व्यक्तिले धरानवासीलाई शेयर हाल्न लगाउने नाममा करीब ८० करोड रुपैयाँ जम्मा गर्न खोजेको पाइएको उहाँको आरोप छ । यस्तो कार्यमा कम्पनीको कुनै संलग्नता नरहेकाले लगानी नगर्न आग्रह उहाँले अपिलसमेत गर्नु भएको छ । 

स्वीकृत भइसकेको ऋण नदिएको प्राइम ब्यांकले अहिले आफूलाई धोका दिने सञ्चालक र कर्मचारीसँग सहकार्य गरेर सवा दुई अर्बको कर्जा प्रवाह गर्न लागेको जानकारी पाएको उहाँले अपिलमा उल्लेख गर्नु भएको छ । ‘बराह डुबाउने केही बेइमान कर्मचारीको मिलेमतोमा बराह ग्रूपको सम्पत्ति प्राइम ब्यांकसँग मिलेर बराह ग्रूपसँग सम्बन्धित तपाईं बचतकर्ताहरू र म सञ्चालकलाई डुबाउने ठूलो चाल हो।’ उहाँले अपिलमा भन्नु भएको छ । 

धितोमा रहेको बराहको सम्पत्ति प्राइम ब्यांकले लिलामीमा राखेपछि स्तुति रिटेल्स नामको कम्पनीले सकारेको छ । स्तुति रिटेल्समा बराहकै सञ्चालक समेत संलग्न समूह छ। यो समूहले साउन १ बाट बराह कम्प्लेक्स सञ्चालन गर्ने तयारी गरेपछि अध्यक्ष लामिछानेले यस्तो अपील जारी गर्नु  भएको हो । 

बराहका धरान-१२ र धरान-८ मा दुई वटा कम्प्लेक्स छन्। दुवै कम्प्लेक्सको स्वामित्व परिवर्तन गर्नका लागि दुवै वडामा पीडित बचतकर्ताले रकम फिर्ता नभएसम्म सिफारिश नदिन आग्रह गर्दै निवेदन दिएका छन्। वडा कार्यलयहरुले सिफारिस दिएका छैनन् । 

बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माको नेतृत्वमा स्वामित्व स्तुति रिटेल्समा हस्तान्तरण गर्ने सहमति भए पछि संचालक लामिछानेले काउन्टरमा यस्तो अपिल गर्नु भएको छ ।