धरान  / आर्थिक अवस्था विषम परिस्थितिबाट गुज्रदैं गएको भन्दैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कार्यरत शिक्षक, कर्मचारीहरुको आवास तथा सेवा सुविधा कटौती गर्ने भएको छ । 

कार्यरत शिक्षक तथा कर्मचारीहरुले निःशुल्क प्राप्त गरिरहेको आवास तथा अन्य सेवा सुविधा कटौती गर्न प्रतिष्ठान प्रशासनले अध्ययनका लागि एक विज्ञ टोली गठन गरेको छ । 

एनाटोमी विभागका विभागीय प्रमुख डा. शमशेर श्रेष्ठको संयोजकत्वमा ६ सदस्य समिति गठन गरेको प्रतिष्ठानका रजिष्टार प्राडा सूर्यप्रसाद संग्रौलाले बुधबार समितीलाई दिएको पत्रमा उल्लेख गर्नु भएको छ । 

विज्ञ टोलीमा आर्थिक प्रशासन महाशाखाका चार्टर एकाउण्ट अमित कौडगिया, आर्थिक सल्लाहाकार कैलाशप्रसाद देव, शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाजका अध्यक्ष र सामान्य प्रशासन शाखाका प्रमुखलाई सदस्य सचिवलाई जिम्मेवारी दिएको छ । टोलीलाई अध्ययन गरि एक महिना भित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

सो टोलीले हाल उपभोग गदैं आएको आवास, खानेपानी, विजुली, सरसफाई तथा सुरक्षा वापतको शुल्क एक मुष्ठ लिने तयारीका लागि शुल्क निर्धारणका लागि अध्ययन गर्न विज्ञ टोली गठन गरिएको बताइएको छ । 

यस अघि निम्नतम सेवा शुल्क लिएर प्रतिष्ठानले निशुल्क आवास उपलब्ध गराउदैं आएको थियो ।