काठमाडौं  / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थिति जनाउनुभएको छ । उहाँले बैठकको प्रत्यक्ष प्रसारणको माग गर्नु भएको थियो । प्रत्यक्ष प्रसारणको माग सुनुवाई नभए पछि उहाँले रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा मुखमा कालो टेप लगाउनुभएको बताइएको छ । 

सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्। बैठकको प्रत्यक्ष प्रसारण नगरेको विरोधमा मुखमा कालो टेप लगाएको उहाँले बताउनु भयो । 

यसअघि उहाँले देशका ३९ जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गर्नु भएको थियो । उहाँले सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किंदै गएको उल्लेख छ। अहिलेकै जस्तो अवस्था रहेमा आगामी चुनावमा रास्वपालाई साख जोगाउनै मुश्किल हुने प्रतिवेदनमा औंल्याएका छन्।  प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

पार्टीमा छलफल नहुँदै प्रतिवेदन बाहिर ल्याएर पार्टी अनुशासन उल्लंघन गरेको आरोप उहाँ माथि लागेको छ । यस्तै, केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे, नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सरकार बनाउने सहमति गरेपछि रास्वपाको भूमिकाबारेसमेत छलफल हुदैं छ ।