काठमाडौँ /  संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञञ्चालनका लागि सहमति भएको छ ।

मध्य राती एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने पहिलो बुँदामा उल्लेख छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति भएको छ ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ । 

राती नै दुई नेताहरु दलवलसहित सितल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सहमतिबारे पत्र बुझाएका छन् ।