धरान /  जनताको बहुदलीय जनवादको विषयमा धरानमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । 

शुक्रबार धरानमा राष्ट्रिय युवा संघ   र अनेरास्ववियुले आयाेजना गरेकाे कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका सुनसरी उपाध्यक्ष बह्रम्ज्ञ भट्टराईको अध्यक्षतामा भएको प्रशिक्षणको सहजिकरण नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमति प्रदेश इञ्चार्ज गुरु बरालले गर्नु भएको थियो । 

विद्यार्थी नेता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य अञ्जु पाण्डेको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा सुनसरी क्षेत्र नं. १(१)का प्रदेश सभा सदस्य रमेश बस्नेतले मदन भण्डारीका विषयमा बोल्नु भएको थियो । 

बहुदलीय जनवादका विषयमा नेता बरालले नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार र नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार भएको बताउनु भएको थियो । जनताको बहुदलीय जनवादले नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचारको रुपमा पार्टीले लिदैं आएको बताउनु भएको थियो । 

नेता बरालले जनताको बहुदलीय जनवाद २०४९ मा सम्पन्न तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा स्पष्ट वैचारिक मान्यता सहित “कार्यक्रम” का रूपमा अघि सारिएको बताउदैं त्यसपछिका विकसित व्यवहारहरूलाई अगाडि बढाउने क्रममा यहाँका परिवर्तनका लागि चालिएका विचार र कामहरूलाई मार्गदर्शन गर्ने विचारको रूपमा अघि सारिएको भन्नुभयो ।