इटहरी । पूर्वको एक मात्र नाम चलेको इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ । कक्षा ११ मा विज्ञान विषयमा आकर्षण बढेको हो । एईईको परिणाम आउनु अगावै सिट क्षमताको तीन गुणा विद्यार्थीले फर्म भरेको विद्यालयले जनाएको छ । 

‘केही दिनयता मात्र दर्जनौं विद्यार्थी र अविभावक पढाइबारे बुझ्न आउनुभएको छ,’ प्रधानाध्यापक पशुपति सिग्देलले भन्नुभयो, ‘एसइइको रिजल्ट नआउँदै विद्यार्थीहरुको यो आकर्षणले हामीलाई उत्साहित बनाएको छ ।’

विद्यालयले केही समयअघि प्रदेश सरकारबाट सुनसरीको नमुना विद्यालयको रुपमा पुरस्कारसमेत जितेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले यो वर्ष कक्षा ११ मा एक हजार मात्र विद्यार्थी भर्ना लिने बताउनु भयो । उहाँले विद्यार्थी र अविभावकको आकर्षणसँगै पूर्वाधार विकास अनि गुणस्तर सुधारलाई सँगसँगै लगिएको जानकारी दिनु भएको छ । अव विद्यार्थी संख्यालाई भन्दा पनि बढि गुणस्तर कायम गर्न जोड दिइने उहाँले बताउनु भयो ।  

विद्यालयले यो वर्षदेखि ९ कोठाको सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याउँदैछ । कम्प्युटर ल्याब, लाइब्रेरीहरु यसअघि नै सञ्चालनमा आइसकेको छ । विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुदैं आएको छ ।

५ वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६ वटा कोठामा विस्तार भएको छ । यस्तै ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा अहिले १४८ जना पुगेका छन् । विद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार २०० भन्दा बढी रहेका छन् । 

विद्यार्थी आवतजावतका लागि तीन वटा बस छन् । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ । कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयका शिक्षक शिवराज दाहाल बताउँनुहुन्छ । 

बेस्ट मेनेजमेन्ट स्कुल अफ दि इयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दंगाल कम्बोडियाको शैक्षिक भ्रमणको क्रममा केही दिनअघि कम्बोडियामा बेस्ट मेनेजमेन्ट स्कुल अफ दि इयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ  । उहाँ कम्बोडियाको भ्रमणमा जानु भएको थियो । यस्तै प्रअ सिग्देललाईसमेत एजुकेसनल पर्फर्मेन्स २०२४ अवार्डबाट सम्मानित गरिएको थियो । जनता स्कुलको राम्रो व्यवस्थापन र राम्रो शैक्षिक कार्यक्रम सञ्चालन गरेवापत दंगाल र सिग्देलले यो सम्मान पाउनु भएको हो ।