धरान  / धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।

 किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गर्नुभएको थियो ।

  खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । उहाँ नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । 

किरात राईहरूको महान् चाड साकेला उँभौली वैशाख पूर्णिमा वा साकेला पूर्णिमाका दिनदेखि सुरु भई धरानलगायत सुनसरीको विभिन्न ठाउँमा साकेला उँभौली मनाउँदै आज शनिबार धरान १७ साकेला पार्कमा समापन कार्यक्रम गर्दै राष्ट्र र समाजका लागि योगदान पुराएको व्यक्तित्वहरूलाई  सम्मान गरेको किरात राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो  ।