धरान  / विपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ प्रवक्ता तथा सह प्रवक्ता नियुक्त हुनु भएको छ । जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा.अन्जु प्रधान तथा सह(प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजीत कुमार नियुक्त हुनु भएको हो । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पुरानालाई अवधी नपुगि हटाएर नयाँ नियुक्ति गर्नु भएको हो । उहाँहरुको कार्यकाल २ बर्षको हुने छ । 

यसभन्दा अघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका प्रमुख प्रा.डा.पारस पोखरेल कार्यरत हुनुहुन्थ्यो भने सह(प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुणकुमार सिंह कार्यरत हुनुहुन्थ्यो । उहाँहरुलाई कायममुकाय उपकुलपति प्राडा प्रल्हाद कार्कीले नियुक्ति गर्नु भएको थियो । पोखरेलले यस अघि नै राजिनामा गर्नु भएको थियो भने सहप्रवक्ता डा. सिंहलाई भने धन्यवाद पत्र थमाएर अर्को डा. अभिजितलाई नियुक्ति गरिएको हो । सिंहलाई फागुन १६ गते नियुक्ति गरिएको थियो । डा. सिहंको नियुक्ति भएको भोली पल्ट डा. गिरीले अदालतबाट सफाई पाएर उपकुलपतिमा पुनस्थापित हुनु भएको थियो । उहाँलाई नभएको प्राध्यापक पद लिएको विषयमा विशेष अदालतमा मुद्धा थियो ।