धरान  / गत मंसिर ५ गते गर्दैगर्दा करेन्ट लागेर गम्भिर विरामी परेका मजदुर रामकुमार राईलाई उपचारकालागि आर्थिक सहयोग प्रदान गरिएकोछ । 

कोशी प्रदेशसभा सदस्य विजयकुमार राईको हातबाट विरामीका बुवा दानबहादुर राईलाई २१ हजार रूपैया प्रदान गरिएको हो । घाइतेको उपचारका लागि ह्याप्पी नेपाल इम्प्लोयमेन्टका संचालक दिपक दुमीको तर्फबाट १० हजार, नेकपा एमाले सुनसरी जिल्ला सदस्य तिलक राईबाट २ हजार, युवा समाजसेवी पोष्टराज राईबाट २ हजार, अधिवक्ता मौसम राईबाट १ हजार, पत्रकार विकास चाम्लिङाट १ हजार, मजदुर नेताहरु भीमज्वाला राईबाट १ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट १ हजार, युवा व्यवसायी सन्तोष बस्नेतबाट १ हजार गरि २१ हजार प्रदान गरिएको हो । 


राईको थप उपचारका लागि सहयोग समिति निर्माण गरेर राहत सहयोग जुटाइने नेकपा (एमाले) धरन उपमहानगर अध्यक्ष हर्कजंङ्ग एभेङले बताउनुभयो । 

घाइते निवास बाघखोप मै पुगेका प्रतिनिधि मण्डलमा सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य विजयकुमार राई, मजदुर नेता भीमज्वाला राई, वडाका पूर्व अध्यक्ष मणीराम राई, एमाले धरान अध्यक्ष हर्कजंङ्ग एभेङ, मजदुर नेता लक्ष्मी बानिँया, दुर्गाखतिवडा, स्थानीय कर्ण तामाङ, सन्तोष बस्नेत तथा सञ्चारकर्मीहरु रहनुभएको थियो । 

घरको आर्थिक अवस्था कमजोर भएका रामकुमार राईको थप उपचार सहयोगका लागि कोशी प्रदेश सांसद विजयकुमार राईले चासो राख्नु भएपछि मजदुर नेता तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलकदमीमा २१ हजार रकम सहयोगीहरुबोट संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

पाँचवर्षदेखि निर्माण सम्बन्धिको काम गर्दै आउनु भएका राई मंसिर ५ गते धरान १५ मा जीतबहादुर लिम्बूको घर निर्माणका क्रममा करेन्ट लागेर अचेत हुनु भएको थियो । ४३ दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचार पछि उहाँ घर मै आराम गदैं आउनु भएको छ । उहाँलाई एक महिना अघि घर ल्याइएको उहाँका बुबा दानबहादुर राईले जानकारी दिनुभयो । उहाँको अझै होस खुलेको छैन् । हालसम्म उपचारका लागि १५ लाख खर्च भएको र थप उपचारका लागि आर्थिक समस्या हुन थालेको बुबा राईले बताउनु भयो । चिकित्सकले विस्तारै होस फर्किन्छ भन्नु भएकोछ ६ महिना हुनै लाग्यो अहिलेसम्म होस आएको छैन तर, हामीले आशा मारेका छैनौं । राईले बताउनुभयो । 

 घरधनीले ५० हजार सहयोग गर्नुभएकोछ, ठेकेदारले करिव ८ लाख जति खर्च गर्नुभएको पनि विरामीका बुवाले बताउनुभयो । उहाँको जविन बचाउन सबैको साथ र सहयोग आवश्यक भएकाले आफुले सबै साथी भाईलाई पहल गर्न आग्रह गरेको प्रदेश सभा सदस्य राईले बताउनु भयो ।