धरान । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बसपार्कमा सडक दुर्घटना न्युनिकरण कार्यक्रम सम्पन्न गरिएको छ । चालक, सहचालक, बुकिङ, यातायात व्यवसायी तथा सर्वसाधारण लक्षित सडक सुरक्षा सचेतना कार्यक्रम गरिएको हो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सङ्खुवासभा जिल्ला कमिटीको आयोजनामा खाँदबारी बसपार्कस्थित खुल्ला स्थानमा सडक सुरक्षा सचेतना कार्यक्रम गरिएको संगठनका जिल्ला अध्यक्ष सृजन राईले बताउनुभयो । 

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र सङ्खुवासभा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर खत्रीले सहभागीलाई सडक सुरक्षाबारे प्रशिक्षण दिनु भएको थियो । 

भेलामा संगठन कोशी प्रदेश कमिटी अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, जिफन्ट संखुवासभा अध्यक्ष लोकबहादुर प्रधान, संगठनका धनकुटा अध्यक्ष कमल थिङ, क्युपेक नेपा संखुवासभा अध्यक्ष प्रेम विश्वकर्मा लगायतका नेताहरुले शुभकामना दिनु भएको थियो । 

प्रशिक्षण प्रदान गर्नुहुँदै अध्यक्ष राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको तथ्य प्रस्तुत गर्नु भएको थियो । 

हामी सबैजना सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर नहुने हो भने अवस्था झन भयावह हुने बताउदै प्रहरी प्रधान कार्यालयको स्रोत उल्लेख गर्दै चार वर्षमा भएको सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउनेहरु र घाइते हुनेहरुको तथ्य अध्यक्ष राईले प्रस्तुत गर्नुभयो । 

प्रसनी खत्रीले नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसंगै सडक दुर्घटनामा बृद्धि भइरहेको बताउनुभयो । 

वहाँले भन्नुभयो, ट्राफिक जनशक्ति अपुगछ, सवारीसाधनको चाप अत्यधिकछ र सडक प्रयोगकर्ता र चालकहरुमा ट्राफिक संकेत चिन्ह र ट्राफिक ज्ञानको अभावछ जसको कारण सडक दुर्घटना बढिरहेकोछ । अहिले अधिकांश सडक दुर्घटनाको अध्ययन गर्दा दुइ पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको र दुइ पाङ्ग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइएको बताउनुभयो ।