धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी बैठक(कास) आज (पुस २५ गते) बोलाएर कायममुकायम उपकुलपति प्राडा. प्रह्लाद कार्की आफै विदामा बसेको पाइएको छ ।  

कामु उपकुलपति प्राडा कार्कीको अनुुकुलतामा उहाँकै निर्देशनमा कासका सदस्य सचिव(रजिष्टार) सöनाथ संगौलाले बैठक बोलाउनु भएको थियो । तर उहाँले आजै शिक्षाध्यक्ष प्राडा. सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको पत्र थमाएर विदा बस्नु भएको प्रशासनले जनाएको छ । पत्रमा शिक्षक, चिकित्सक र कर्मचारीको बढुवा सम्बन्धिको प्रक्रिया कानुनमा नबाझिने गरि, कानुनसम्बत निर्णय गर्न निर्देशनसहितको पत्र दिएर उहाँ विदा बसेको शिक्षाध्यक्ष शर्माले जानकारी दिनु भयो । तर विपी प्रतिष्ठानको ऐनले उपकुलपतिको अध्यक्षतामा मात्र निर्णय गर्ने व्यवस्था गरेको छ । उपकुलपति नै विदामा बसे पछि बैठक बस्न सकेन । 

उक्त बैठकले शिक्षक कर्मचारीहरुको बढुवाको लागि अन्तर्वार्ता मिति तोक्नेबारे महत्वपुर्ण निर्णय गर्ने अपेक्षा गरिएको थियो । आजको कार्यकारिणी बैठक हुन नसके पछि आन्दोलनरत चिकित्सक थप आक्रोसित हुदैं उपकुलपतिलाई प्रतिष्ठान प्रवेशमा रोक लगाउने बताएका छन् । उहाँ विभागीय प्रमुख भएको कार्डियो विभागमासमेत आन्दोलनरत पक्षले तालावन्दी गरेका छन् । 

चिकित्कस मात्र आन्दोल सुरु गरेका आजदेखि भने कर्मचारीहरु पनि आन्दोलित भएका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले बुधबार संयुक्तरुपमा उपकुलपति प्राडा.कार्की विभागीय प्रमुख रहेको कार्डियोलोजी विभागमा तालाबन्दी गरेर निषेध गरेको पम्प्लेट पनि टाँसेका हुन । यस्तै, उपकुलपति कार्यालयअघि पनि प्राडा.प्रह्लाद कार्कीलाई निषेध गरिएको ब्यानर टासेको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज  खानले जानकारी दिनु भएको छ । 

आन्दोलनरत पक्षको उपकुलपति डा.कार्कीले कास बैठक बसेर अन्तर्वार्ताको मिति तोक्नुपर्ने एक सुत्रिय माग रहेको थियो । यसअघि गत कार्तिक २० गते मेयर हर्क साम्पाङ, राजनीतिक दलहरुको पहल र दबाबमा व्यवस्थापन पक्षसँग शिक्षक, कर्मचारीहरुको छुट्टा छुट्टै ४ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गर्नुपर्ने थियो, तर पुस २५ गतेसम्म पनि सुचारु नभएपछि पुनः शिक्षक कर्मचारीहरु आन्दोलित हुुनु परेको हो ।  यस विषयमा उपकुलपति कार्कीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

यता प्रतिष्ठानका रजिष्टार डा. सूर्यनाथ संग्रौलाले उपकुलपतिको निर्देशन अनुसार आफुले आज बैठक राखेको भए पनि उहाँ अनुपस्थित हुनु आश्चर्य भएको बताउनु भएको छ । विगतमा बढुवा रोक्नका लागि उहाँले नै लोकसेवा आयोगलाई पत्र पठाएकाले यति बेला आफै बढुवाको प्रक्रिया सुरु गर्न उहाँलाई नैतिक समस्या भएको बताउनु भयो । उहाँलाई केही सल्लाहाकारहरुले विगारे उहाँको मनमा डर पसेको पनि प्रष्ट पार्नु हुदैं प्रतिष्ठानको उन्नतिका लागि पदाधिकारी एक हुनुपर्ने बताउनु भयो । त्यसका लागि उपकुलपतिलाई सबै अधिकार भएकाले जिम्मेवार उहाँ नै हुने डा. संग्रौलाको भनाई थियो । 

चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि प्रतिष्ठानले लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा विज्ञापन खुलाउने र अन्तर्वाता लिनु पर्नेमा हालसम्म प्रतिष्ठानले कार्यविधि र कर्मचारीका लागि नयाँ नियमावलीसमेत बनाएको छैन ।

यसअघि भएका पदोन्नति र नियुक्तिहरु पुरानै नियमावली अनुसार गर्दै आए पनि लोकसेवा आयोगले आँखा चिम्लिँदै आएको थियो । पछिल्लो समय कामु उपकुलपति भएर प्राडा. कार्की आएपछि चिकित्सक र कर्मचारीको पदोन्नतिको विषयमा लोकसेवा आयोगलाई पत्र लेखे पछि बढुवाकाे प्रक्रिया अगाडि बढ्न सकेकाे छैन् ।