इलाम । अस्पतालको उपचार खर्च बुझाउन नसकेपछि इलामका एक वृद्ध अस्पतालमै वन्धक बन्नु भएको छ । 

इलाम माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक वस्न वाध्य हुनु परेको हो । तिम्सिना ४० वर्ष  भारतीय जेलमा लामो समय बिताएर  २०७७ सालमा घर आउनु भएको थियो ।

उहाँको स्वास्थ्यमा मानसिक समस्या देखिएपछि परिवारले गत वर्ष उपचारको लागि  चितवनमा लगेर उपचार गराउँदै आएको थियो । चितवनको  खैरहनी नगरपालिका–११ को ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनमा उपचारका लागि भर्ना गराइएको थियो ।

घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमा सहितको परिवार रहेको लुम्बाक घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।  उहाँ २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो ।

छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताए पनि घर ल्याउन नसकिएको परिवारले गुनासो गरेका छन् । उपचारमा लागेको खर्च बुझाउन आर्थिक अभावले अस्पतालमै राख्नुपरेको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताउनुभयो । 

उपचारमा सात लाख १५ हजार खर्च भएको र त्यसमा तीन लाख रुपैयाँ बुझाएको तर बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा अस्पतालमै बस्नुपरेको भतिजा गोपालको भनाइ छ । अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको र अहिले हिसाब–कति पुग्यो थाहा नभएको पनि उहाँले बताउनुभयो ।


भारतीय उच्च अदालतको आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा. गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । सिजोफोर्निया देखिएको र यसबाट पूर्ण निको नभए पनि उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको र अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने डा.भन्टानाले बताउनुभयो ।