विराटनगर /  कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको हो ।  

प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ ९५० बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७र४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।”

सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गर्नुभएका कांग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा सशरिर उपस्थिति हुनु भएको थियो । 

नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन भएकाले मुख्यमन्त्री नियुक्त गर्न सशरीर उपस्थित भएर उहाँहरूले प्रदेश प्रमुखलाई दबाब दिएपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गराउने निर्णय गर्नुभएको हो । 

गठबन्धन दलका शीर्ष तहमा भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको समर्थनको पत्रसहित मुख्यमन्त्री दाबी गर्नुभएको थियो भने कांग्रेस सांसद कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।