धरान / एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउनेलगायत दुई पक्षीय सहमति भए पछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी शिक्षक कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबीच भएको तीन बुँदे सहमति भएको छ । सहमति पछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कारलगायतका आन्दोलन स्थगित गरिएको छ । 

सहमतिमा २०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित  सेवाको पदपूर्ति गर्नेको प्रकृयाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागहरुका अन्तर्वार्ता संचालन गर्ने सहमति भएको  छ ।  

त्यस्तै आन्दोलनमा सहभागी शिक्षक(कर्मचारीप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी आआफ्नो कार्यमा संलग्न हुने सहमति गरिएको छ ।

६ वर्षदेखि १८ वर्षसम्म वृत्तिविकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोलन गर्दै आएका थिए। यसै गरि कर्मचारीहरुसँग पनि चार बुँदे समहमति भएकाे छ ।  सहमति  पत्रमा चार पदाधिकारी, दुई जना कार्यकारी सदस्यहरु र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालसहित कार्यसमितिले  हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानमा बढुवा प्रक्रियामा १८ वर्षदेखि  रोकिएका शिक्षक कर्मचारी छन् । ३५ वटा विभागका शिक्षकहरु बढुवाका लागि आवेदन दिनु भएको छ । बढुवा रोकिए पछि राम्रा चिकित्क शिक्षकहरु पलायनसमेत भएका छन् । 

बिपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा लोकसेवा आयोगले भदौ ७ गते प्रेषित पत्रमा बढुवा र पदपूर्तिमा बन्देज लगाएको थियो ।