धरान / कांग्रेसले बहुमतको सरकार बनाएको बेला प्रजातन्त्र तत्कालीन राजा ज्ञानेन्द्रलाई जिम्मा लगाएका शेरबहादुर देउवाले अहिले लोकतन्त्रको पाठ पढाउन नसुहाउने एमालेका सचिव एवं सुनसरी क्षेत्र नं १ का प्रदेशसभा(ख) उम्मेदवार भिम आचार्यले बताएका छन् । बराह नगरपालिका ३ मा आयोजित चुनावी कोणसभालाई बुधबार सम्बोधन गर्दै आचार्यले बहुमत पाउदा पनि देशको विकास नगरेर विगतमा कांग्रेसले नै प्रजातन्त्र दरबारमा लगेर बुझाएको बताए । अहिले तिनै देउवा प्रधानमन्त्री भएको र दुई ठुला कम्युनिष्ट पार्टी मिल्दा बहुमत आउने भएपछि अत्तालिएर रोइकराई गरिरहेको पनि आरोप लगाए । ‘कांग्रेसले २०५६ मा बहुमत ल्याएपछि देउवा नै प्रधानमन्त्री थिए, उनले २०६९ मा जनताको अधिकार, प्रजातन्त्र लगेर राजालाई बुझाएका होइनन् ? अनि हामीले अधिकार फिर्ता गराउन आन्दोलन गर्नुपरेको होइन ?’ नेता आचार्यले भने,‘त्यस्तो इतिहास बोकेको मान्छेले लोकतन्त्रको पाठ सिकाउन सुहाउदैन । लोकतन्त्रको रक्षा गर्छु भन्छन्, तर लोकतन्त्र होइन, लुटतन्त्रको रक्षा गरेका छन् ।’
प्रदेशसभा(ख)मा सुर्य ध्वजाबाहक उम्मेदवार रहेका आचार्यले देशको विकास गर्न अब धेरै पार्टी आवश्यक नभएको ठहर गर्दै २ बामपन्थी शक्ति एक हुने क्रममा गठबन्धन गर्दा कांग्रेस हतोत्साहित भएर अधिनायकवाद आउने भन्दै जनतामा भ्रम छरिरहेको बताए । संवैधानिक, राजनैतिक लडाई र संक्रमणकाल टुंगिएको उल्लेख गर्दै आचार्यले अब देशको विकास र समृद्धिको लडाई मात्र बाँकी रहेको बताए । ‘देशको विकास गर्न किन सय वटा पार्टी चाहियो ? पार्टीहरु एक हुनुपर्छ, र अस्थीरताको अन्त्य गर्नुपर्छ,’उनले भने,‘२०४६ पछि २ पटक बहुमत ल्याउदा पनि देश र जनताको लागि केही गर्न नसक्ने कांग्रेसले अहिले बामपन्थीहरु मिलेर बहुमत ल्याउछौ, र देशको विकास गछांै भन्दा किन आत्तिएको, रोइकराई गरेको ?’
कांग्रेसको समर्थनमा प्रतिनिधिसभा उम्मेदवार बन्न आएका फोरम नेता अशोक राईप्रति लक्षित गर्दै नेता आचार्यले बर्षै पिच्छे पार्टी फेर्ने र जनताको विरुद्ध नाकाबन्दी लगाउने मान्छेबाट विकास, समृद्धि सम्भव नभएकोले सचेत भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । ‘हामी समाजमा मिलेर बसेका छौं, तर यहाँ फुट गराउन खोज्दैछन् । हिजो एमाले थिए, अर्को पार्टी खोले, फेरि फोरमा छिरे, अर्को पटक कहाँ पुग्ने हुन् । विचार पुर्याएर मतदान गर्नुहोला,’आचार्यले भने । कम्युनिष्टहरु विगतमा सरकारमा पुगेपनि नेपाली कांग्रेसले राम्रो काम गर्नै नदिएको उल्लेख गर्दै उनले यसपाली दुई तिहाई बहुमत ल्याएर बाम गठबन्धनले ५ बर्षमा बाटो, पुल, सिचाई, खानेपानी, किसान, मजदुर सबै क्षेत्रमा जनतालाई राहत पुग्ने गरी काम गर्ने बताए । ‘अहिले पनि काम नगरेको होइन, तर कांग्रेसले हामीलाई काम गर्नै नदिने । राम्रो गर्यो कि सरकार ढालिहाल्ने, त्यसैले अब ५ बर्षसम्म नढल्ने बामपन्थीहरुको स्थिर सरकार बनाउन गठबन्धन भएको हो,’उनले भने ।
‘नाकाबन्दी सम्झेर पनि भोट नदिनुस्’ः जयकुमार राई
एमाले जिल्ला नेता एवं सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा उम्मेदवार जयकुमार राईले भारतीय नाकाबन्दीले जनता रोइरहेको बेला ‘नाकाबन्दी नै छैन’ भन्ने कांग्रेस र ‘६ महिना नाकाबन्दी थोरै भयो’ भन्ने पार्टीका उम्मेदवारलाई जनताले मतदान नगर्ने विश्वास व्यक्त गरेका छन् ।
बराह नगरपालिका ३, स्थित खोरियामा आयोजित कोणसभालाई सम्बोधन गर्दै बाम गठबन्धनका साझा उम्मेदवार राईले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुदा नाकाबन्दी लगाउनुपर्छ भन्दै लैनचौरस्थित भारतीय दुतावास पुग्ने फोरम नेता अहिले कांग्रेसको बुई चढेर चुनाव लढ्न आएको पनि बताए । ‘जनता ग्यास, पेट्रोल, डिजेल र औषधी पनि नपाएर छटपटाइ रहेको बेला कांग्रेसले त नाकाबन्दी नै छैन भन्यो, फोरमले त १ बर्ष नै नाकाबन्दी लगाउनुपर्छ भन्यो । उनीहरु भारतीय दुतावास पुगेर राकेश सुदलाई पनि भेटेर त्यसै भने,’उम्मेदवार राईले भने,‘जनतालाई रुवाउनेहरु अहिले कुन अनुहार लिएर भोट माग्दै आउदैछन् ? अब जनताले फैसला गर्नुपर्छ, राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिने पार्टीलाई भोट दिने कि जनता रोइरहेको बेला नाकाबन्दी छैन भन्नेलाई भोट दिने ।’
नाकाबन्दी विरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार सत्तिसाल झै उभिएर भारत भ्रमणको निम्तोलाई पनि अस्वीकार गरेको उम्मेदवार राईले मतदाताहरुलाई स्मरण गराए । नेपालसँग भारत झुकेर नाकाबन्दी खोलेपछि मात्र प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको भन्दै राष्ट्रियता, स्वाधिनताको पक्षमा लड्ने बामपन्थी पार्टीलाई मतदान गरेर जिताउन पनि उनले मतदाताहरुसँग आग्रह गरे । ‘भारतले भ्रमणमा निम्ता दिदा पहिला नाकाबन्दी खोल, अनि मात्र आउछु भन्नुभयो । आजित भएर भारत झुक्यो, त्यसपछि मात्र ओली जानुभयो,’उनले भने ।
बामपन्थीहरुको बहुमतको सरकार कहिल्यै नभएपनि दलित, वृद्धवृद्धा, एकल महिलालाई भत्ता दिलाएको, गाउँमा बजेट पुर्याएको, लोडसेडिङ अन्त्य गरेको, स्वरोजगार कार्यक्रम, सहकारीलगायत लोकप्रिय कार्यक्रम ल्याएको खुलाउदै उनले अब बहमुतको सरकार बनेपछि गरिब, किसान, सुकुम्बासी, युवा, दलित, महिला सबै बर्गको हितमा काम गर्ने र विकास ल्याउने बताए । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार उमिता बराइलीले पनि बर्षैपिच्छे सरकार फेरिदा जनताको काम गर्न नपाएकोले अब बाम गठबन्धन भएको बताए ।