मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा  जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले विहान ६ वजेदेखि अर्को आदेश नभए सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । 

प्रशासननले कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेलार्, याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।

कहाँ –कहाँ निषेधाज्ञा छ ? 

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन ।

आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ । भोली देखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ ।

 पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।