भीमज्वाला राई

सालिक हुनुअघि 

सालिकको पनि जीवन थियोे 

सालिकको पनि सपना थियोे ।


देश - अठोट थियोे 

जनता - संकल्प थियो 

समाजवाद - लक्ष्य थियोे  ।


सपनाको टाकुरोबाट गिरेपछि  

सालिक हुँदोरहेछ - मान्छे

हिड्दा हिड्दै बाटो हराएपछि

सालिक उभिदोँरहेछ - मान्छे 

शिखर टेकेर फेदीसम्म झर्न नसकेपछि 

सालिक बन्दोरहेछ - मान्छे ।


युद्धमा युद्धवीरहरू

सबैले कहाँ जित्दारहेछन र ?

गन्तव्यमा अगुवाहरू 

सबै कहाँ पुग्दारहेछन् र ?

सगरमाथा चुम्ने पैतालाहरू 

सबै कहाँ फेदीसम्म आइपुग्दारहेछन् र ? ।


सडक किनारमा

सालिक उभिएको छ - देश 

दोबाटो - चौबाटोहरूमा

सालिक उभिएको छ - जनता

बन्द चौघेरोभित्र 

सालिक उभिएको छ - सपना ।

***

३ जेठ २०८० 

मदन भण्डारीको ३० अैाँ स्मृति दिवस