धरान / सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पामा तीन करोडको कारोवार भएको छ । 

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धरान एक्स्पोका संरक्षक विजय श्रेष्ठले एक्स्पोलाई ३ बढी अवलोकनकर्ताले अवलोकन गरेको र तीन करोड हाराहारीमा कारोबार भएको समापन कार्यक्रममा जानकारी दिनु भएको छ ।  

एक्स्पोको समापन समारोहमा बोल्दै उहाँले एक्स्पो आयोजक संघले धरान, सुनसरी र समग्र कोशी प्रदेशमा लगानी भित्र्याउने गरी तयारी गरिरहेको बताउनु भयो ।  

‘हामीले एक्स्पो अवधिभर पनि विभिन्न तरिकाले यस क्षेत्रमा लगानी भित्र्याउने प्रयास गर्याैँ’ अध्यक्ष श्रेष्ठले भन्नु भयोे, ‘अब एक्स्पो समापन भएपछि पनि यसले निरन्तरता पाउनेछ । धरानमा लगानी गर्न वातावरण मिलाउन स्थानीय सरकारसँग समन्वय भइरहेको छ ।’ 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीले शविनार समापन गर्नु भएको थियो ।  

समापन समारोहमा पर्यटनमन्त्री किराँती, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, पर्यटन बोडृका कार्यकारी निर्देशक हर्षराज शाक्यलगायतले बोल्नु भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री किराँतीले धरानको साख फर्काउन सबै लाग्नु पर्ने बताउनु भयो ।  

पछिल्लो समयमा धरानमा केही छैन भन्ने तर्क हाबी भइरहेको भन्दै मन्त्री किराँतीले दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गर्नु भयो । ‘धरानमा केही पनि छैन भन्ने एक किसिमको तर्क धेरै हाबी हुन थालेको छ । यसलाई सबै मिलेर चिर्न आवश्यक छ’ मन्त्री किराँतीले भन्नु भयो । ‘धरानमा केही छैन भन्दा पनि के चाहीँ छैन ? भन्ने दृष्टिकोण सबैले बनाउनु पर्छ ।’

लाहुरेको सहर, फेसनको सहर, कला–सँस्कृतिको सहरका रुपमा परिचित धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्नेमा उहााँले जोड दिनु भयो ।  धरान एक्स्पो लगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग गर्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उहाँले बताउनु भयो ।  

‘धरान हुँदै रानीलाई किमाथाङ्गसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनु पर्ने अवस्था छैन’ मन्त्री किराँतीले भन्नु भयो । ‘विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नु पर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।’

एक्स्पोका अतिथि मीन विश्वकर्माले सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन नसकेको तर्क गर्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गर्दै पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराउनु भयो । 

‘सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ’ उहाँले भन्नु भयो, ‘पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’ 

प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्य लगायत संघ संस्थाले समृद्धीका लागि निरन्तर प्रयास गरिरहेको भएपनि दलीय मतभेद–विरोध, संघीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माले बताउनु भयो । 

नीजि क्षेत्रको व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद दिनु भएको थियो । उहाँले धरानमा सम्भावनाका मात्र कुरा नगरेर यहाँका समस्याबारे पनि उजागार गदैं समाधानतिर सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले धरानको खानेपानी समस्या टार्न कोशीको पानी ल्याउन सबैको सहयोग आवश्यक भएको बताउनु भयो ।  

एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पुर्याएको सहयोग र अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उहाँले खुलेर प्रशंसा गर्नु भयो ।  धरान कै उद्योगी व्यवसायीहरुले लगानी बढाएर धरानको विकास गर्नु पर्ने उहाँको जोड थियो । 

‘एक्स्पोले रैथाने उत्पादनको बजारीकरण, व्यवसायीकरणमा सहयोग पुर्याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा वहाँहरु सँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ । यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ’ प्रमुख साम्पाङले भन्नु भयो, ‘एक्स्पो अवधिभर आर्थिक कारोबार पनि राम्रो भएको जानकारी प्राप्त भएकाले आयोजकलाई बधाई तथा कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद !’ 

धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै मेयर साम्पाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड समेत दिनु भयो ।  

‘सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ । त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ । यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ’ मेयर साम्पाङले भन्नु भयो, ‘सँस्कृति मन्त्रीले नेपाल सरकारमा र देशका अन्य विभिन्न स्थानमा श्रम सँस्कृतिको प्रचार गरिदिनुहोला ।’

त्यस्तै, स्थानीय व्यवसाय र उत्पादनलाई प्राथमिकता दिइनुपर्ने विषयलाई बारम्बार प्राथमिता दिएका मेयर साम्पाङले धरानले त्यसको नेतृत्व गर्ने संकल्प समेत गर्नु भयो ।  

‘स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणलाई धरान सरकारले विशेष प्राथमिकता दिन्छ’ उहाँले भन्नु भयो, ‘ढुक्क हुनुस्, धरानमा नै उत्पादन हुने वस्तुका लागि स्थानीय सरकारले त्यसको प्रवद्र्धन, बजारीकरण, व्यवसायीकरणमा सहजकर्ताको भूमिका खेल्छ ।’ एक्स्पाेका स‌याेजक गाेपाल श्रेष्ठले एक्स्पाेलाई सफल बनाउन सहयाेग गर्ने हरुलाई धन्यवाद दिनु भएकाे थियाे ।

 एक्स्पोमा नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो । दश दिनसम्म आयोजित एक्स्पोलाई धरान उपमहानगरपालिका र कोशी प्रदेशको विशेष सहयोग रहेको थियो ।