धरान /  धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । 

धरान १६ स्थित रंगशालामा शनिवार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख पुरस्कार पाएका छन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गर्नु भयो । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषितहुँदै नगद २५ हजार पुरस्कार प्राप्त गर्नु भयो । उहाँले प्रतियोगिता भरी ३ गोल गर्नु भएको थियो । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित हुनु भएको छ । उहाँहरुले जनही नगद २५ हजार प्राप्त गर्नु भएको छ ।  

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद १० हजार पुरस्कार हात पार्नु भयो । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित हुनु भयो । विजेता तथा उपविजेता खेलाीहरुलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेटल प्रदान गर्नु भयो । 

एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाइनलमा पुगेको थियो ।  यसअघि यि दुई टिम मेची नेत्रालय काँकडभिट्टा गोल्डकप र हेटौंडा गोल्डकपमा भेट भइसकेका हुन । 

संयोगकले यो बर्ष उपाधिकै लागि धरान रंगशालामा दुई टिम आमनेसामने हुने थिए । फागुन ८ गते मात्रै वाग्मती प्रदेशको राजधानी हेटौंडाको मैदानमा चिरपरिचित खेलाडीहरू सम्मिलित केएफटीसीसँग क्यामरुनी टिमको भेट भएको थियो । यो टिम यसअघि हेटौंडामा सम्पन्न सहिदस्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दोस्रो सेमीफाइनल खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । अहिले सोही हिमालयन शेर्पा क्लबकै अधिकांश खेलाडीहरु झापाको केएफटीसीमा आबद्ध भएर खेलेका थिए । यसअघि केएफटीसीले बुढासुब्बा गोल्डकपको १९ औं संस्करणमा सहभागिता जनाएको थियो ।

क्यामरुनी टिम एभिनियरका प्रशिक्षक आशिक थापा मगरका अनुसार दुई वर्षअघि स्थापित क्लबले करिब डेढ दर्जन टुर्नामेन्टमा सहभागिता जनाइसकेको बताए । आफुहरुसँग शारीरिक रूपमा अनुभवी, अग्ला र बलिष्ठ खेलाडी रहेकाले जित सम्भव भएको प्रशिक्षक मगरले बताउनु भयो ।   फागुन १३ गते देखी भएको गोल्डकपमा ३ विदेशी सहित ८ टिमको सहभागिता रहेको थियो ।