धरान /  प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश दुईतिहाई बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरे । विपक्षमा ४ जना प्रदेश सांसदले मात्र मतदान गरेका थिए । अन्य ६ जना सांसदहरु भने अनुपस्थित भए । कुल ९३ सदस्यीय प्रदेशसभामा प्रदेशको नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रदेशको नाम कोशी राख्न प्रदेश सरकारमा रहेको नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाले पक्षमा मतदान गरेको थियो ।  एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मतदान गरेका थिए । जनता समाजवादी पार्टीको एक मात्र प्रदेश सांसद तथा मन्त्री निर्मला लिम्बु मतदान प्रक्रिया सुरु हुने बेला हुँदा प्रदेशसभामा प्रवेश हुन नपाउदा मतदानबाट बञ्चित हुनु भयो ।  

पहिचानका आधारमा नाम राख्नुपर्ने अडान राख्दै आएको माओवादीले समेत कोशीको पक्षमा मतदान गरेको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्ताव गरेको थियो तर उक्त प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको थियो । मतदानको समयमा पत्रकारहरुलाई प्रदेश सभा बैठक स्थलमा प्रवेश रोक लगाइएको थियो । नियमित बैकठको प्रत्यक्ष प्रशारण आजको बैठकमा रोक लगाइएको थियो । सभामुख बाबुराम गौतमको निर्देशनमा रोक लगाइएको हो । 

यसै विच आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको नामकरण भएको खुशियालीमा भोली विहीबार सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ ।  प्रदेश सरकार मन्त्रिपरिषादबाट निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ ।

May be an image of text