धरान / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३ र्आं संस्करणमा एन्फा मोरङले बङ्गलादेशको केबिपिएस क्लबलाई प्यानेल्टी सुटमा ३–१ को नतिजा निकाल्दैं सेमी फाइनलमा प्रवेश गरेको छ । 

धरान–१६ स्थित रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाहुना टिम बङ्गलादेशको केबिपिएसलाई हराउदैं मोरङ सेमी फाइनलको यात्रा तय गरेको हो । खेल अवधीमा दुवै पक्षबाट कुनै गोल नभए पछि आयोजकले प्यानेन्ट सुट गराएको थियो । 

मोरङको जितमा गोल किपर प्रमिजय गच्छदार नायक बन्नु भएको छ । उहाँले बंगलादेशको ३ वटा पेनाल्टी बचाएर टिमलाई विजयी गराउनु भयो । बंगलादेशका फोरिड, सागोर र साहिनको प्रहार गोल किपर गच्छदारले बचाउनु भएको थियो । आजको म्यान अफ दी म्याचको नगद १० हजारको पुरस्कार पनि उहाँले नै प्राप्त गर्नु भएको छ । बंगलादेशका खोका बाबुले एउटा सान्तोना गोल गर्न सफल हुनु भयो ।  

पहिलो नम्बरमा मोरङका धिरे बिष्टको प्रहार बंगलादेशका गोल किपर कोबिजले रोकिदिए पनि त्यस पछिका सबै खेलडीले गोल गर्न सफल हुदा मोरङको नतिजा राम्रो भएको थियो । मोरङका लागि सञ्जय धिमाल, सान याक्खा, मनिष धिमालले गोल गर्नु भयो । 

प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरहरु खेर फालेका थिए । बंगलादेशले मोरङलाई दोश्रो हाप पछि निकै दवावमा राखे पनि गोली गर्न सकेन । 

आजको विजेताले अगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

भोली बुधबार युके एफसी भारत र केएफटिसी झापा विच पहिलो सेमी फाइलन खेल हुने आयोजकले जनाएको छ ।  फागुन २० गते फाइलन रहेको प्रतियोगितामा तीन विदेशी टिमसहित ८ वटा टिमले सहभागिता जनाएका छन् ।