विराटनगर /  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदाताले मतपत्रमा स्वस्तिक चिह्न भएको छाप नै लगाउनुपर्ने जानकारी मतदातालाई दिनुपर्ने भएको छ । विगतमा मतदान केन्द्रमा स्वस्तिक चिह्न बेगरको छाप मतपत्रमा देखिएकाले अहिले यससम्बन्धी जानकारी मतदातालाई दिनुपर्ने अवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

एक मतदाताले प्रतिनिधिसभा सदस्य र प्रतिनिधिसभा समानुपातिक तथा प्रदेशसभा सदस्य र प्रदेश समानुपातिक गरी चार छाप लगाउनुपर्ने शिक्षा राजनीतक दल, दलका प्रतिनिधि तथा उम्मेदवारहरुले मतदातालाई दिनुपर्ने निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिनुभयो ।

मोरङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार यही सन्देशसहित मत माग्ने कार्यमा व्यस्त देखिन्छन् । मोरङ निर्वाचन क्षेत्र नं २ शतप्रतिशत किसान भएको क्षेत्र हो । परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तरमा परिवर्तन नआएपछि कृषिमा आधुनिकीरण गर्नुपर्ने, बीउबिजन, सिँचाइ, बजारको व्यवस्थापनको राम्रो प्रबन्ध हुनुपर्ने किसानको माग छ । यहाँ सीपमूलक एवं प्राविधिक शिक्षा, प्रसूतिगृह, आधारभूत आवश्यकतासहित स्वास्थ्य केन्द्र, युवा र महिलालाई स्वरोजगारमा उत्साहित बनाउन सीप, पुँजी र प्रविधि दिनुपर्ने माग यो क्षेत्रका जनताले गरेका छन् । रतुवामाई, बक्राहा, डाँस खोला, चिस्याङ र लोहन्द्रा खोला प्रभावित यो क्षेत्र पूर्वपश्चिम भए पनि नदीमा पुल नभएकाले जनता पूर्वपश्चिम ओहोरदोहोर गर्न सकेका छैनन् । जनतालाई सुविधा प्रदान गर्न यी नदीहरुको नियन्त्रण एवं व्यवस्थापन तथा पुल बनाउनुपर्ने चाहना जनताले राखेका छन् । यी खोलालाई नियन्त्रण एवं व्यवस्थापनमा राज्य कोषबाट अर्बौं रकम खर्च भइसकेको छ तर पनि वर्षात्का समयमा नदीमा आउने बाढी र कटानबाट जनता ढुक्क हुन सकेका छैनन् । रङ्गेली नगरपालिका प्रमुख दिलीप बगडियाले आफू नगर प्रमुखमा निर्वाचित भइसकेपछि यहाँका सडकको स्तरोन्नति गर्न दिनरात मेहनत गरेको बताउनुहुन्छ । यस क्षेत्रमा सुकुम्बासी समस्या अत्यधिक रहेकाले त्यसको समाधानमा पनि आफू लागेको बताउनुभयो । यस क्षेत्रमा नागरिकता समस्या पनि गम्भीर छ । परापूर्वकालदेखि बस्दै आएका सन्थाल, बाँतर, कृषि समुदाय नेपाली नागरिक भएर पनि नागरिकताबाट बञ्चित भएका छन् ।

यस्तै नागरिकको पहिचान गरी स्थानीय पालिकाबाटै सिफारिस गराएर नागरिकता दिनुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । वाम लोकतान्त्रिक गठबन्धन तथा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार सुजाता कोइरालाले महिला सशक्तीकरणका लागि महिला लघुउद्यम सञ्चालनमा ल्याउने, पूर्वाधारको विकास गरी यहाँ बक्राहा, लोहन्द्रा, चिस्याङ र दन्स खोलाको नियन्त्रण एवं व्यवस्थापनमा ध्यान दिने, क्षेत्रमा नमुना विद्यालय, स्वास्थ्य सेवा, रोजगारीका समस्या समाधान गर्नेजस्ता प्रतिबद्धता मत माग्ने क्रममा गर्नुभएको छ । यही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमाले ऋषिकेश पोखरेलले यो क्षेत्र हरेक हिसाबले पछि परेको भन्दै नेता र मन्त्री एवं प्रधानमन्त्री उत्पादन गर्ने यो क्षेत्रको विकासमा राज्यको ध्यान नगएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका नागरिकको समस्या र दुःख आफूले बुझेकाले आफू निर्वाचित भएमा नीतिगत तथा व्यावहारिकरुपमा राज्यलाई दबाब दिएर जनताका समस्या समाधान गराउने प्रयत्न गर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार गोपाल दाहालले यस क्षेत्रमा अहिले पनि मलको हाहाकार रहेकाले चुनावी प्रचारप्रसारका क्रममा किसानबाट व्यापक गुनासो आएको बताउनुभयो । “रङ्गेली नगरपालिका वडा नं ८ स्थित सखुवाथान चोकमा साझा संस्थामा ५० बोरा मल छ, संस्थाले छ सय कुपन बाँडेको छ, एक हजार पाँच सय जना किसान मल लिन भीड लागेका छन्, मल नपाएर उम्मेदवारले किसानबाट लखेटिने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो ।

कूल मतदाता एक लाख २४ हजार सात सय २९ र ६८ मतदानस्थल तथा एक सय ५१ मतदान केन्द्र रहेको यस क्षेत्रमा केराबारी गाउँपालिकाका सबै वडा, मिक्लाजुङ गाउँपालिकाका वडा नं १, ४ र ५ तथा लेटाङ नगरपालिकाका सबै वडा पर्दछन् । अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल निर्वाचित यो क्षेत्रमा अहिले नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँ, मङ्गोल नेशनल अर्गनाइजेशनका नारायण विसङ्खे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, स्वतन्त्र राजकुमार शिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने, नेश्नलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी, स्वतन्त्रद्वय विशेश्वर ऋषिदेव र सुनिलकुमार साह तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नारायणप्रसाद गनगाईं उम्मेदवार हुनुहुन्छ ।