धरान / धरानमा बिहानैदेखि घाम चर्केको छ । साँझपख चिसो बढ्दै गए पनि चर्को घामले दिउँसो घरदैलोमा उम्मेदवारलाई सकस परेको देखिन्छ । एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक राई तातो घाममा ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै जनताको घरदैलोमा छन् ।  

पहाडको आलिङ्गन र चुरेको काखमा रहेको धरानमा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए नि कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । सूर्य चिह्नको प्रभाव रहेको धरानले यसपाली प्रतिनिधि सभामा छाता चिह्नबाट उठेका उम्मेदवार अशोक राईलाई निर्वाचित गर्नु पर्ने हुन्छ ।  
एमाले जसपाका साझा उम्मेद्वार राईसँग एमालेको सिङ्गो टिम घरदैलोमा छ । निवर्तमान सङ्घीय साम्सद जयकुमार राईको प्रभाव क्षेत्र रहेको सुनसरी १ (२) मा उम्मेदवार राईलाई आफैं मत माग्दै हिडिरहेका छन् जयकुमार ।

धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै हिडेका उम्मेदवार जनतासँग विकास र समृद्धिका प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुको बस्ती रहेको धरान १७ सर्दू खोलाको वितण्डाले आजित छ ।  उम्मेदवारहरुले जनताको आकाङ्क्षा पूरा गर्न  सुकुम्बासी समस्यालाई हल गर्ने, खहरे नियन्त्रण गर्ने र  खहरे  प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेता राई राष्ट्रिय सरोकारका विषयदेखि स्थानीयका साना तिना समस्याकाबारेमा पनि प्रतिवद्धता जनाउदैं आउनु भएको छ ।

साथमा सुनसरी क्षेत्र नं. १(२) प्रदेश सभा सदस्यका लागि एमालेबाट उम्मेद्वार बन्नु भएका विजयकुमार राई पनि सँगै सूर्य चिन्ह बोकेर भोत मागि रहनु भएको छ । दुवै उम्मेद्वारहरुलाई मतदाताहरुले उत्साही भएर स्वागत गरिरहनु भएको छ । ‘यस पटक मन्त्री हुने हैसियत राख्ने नेतालाई जिताएर पठाइने छ ।’– स्थानीय पवित्रा राईले भनिन ।