धरान । नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरुलाई विजयी गराउन सुनसरी क्षेत्र नं. १ का मजदुर एक जुट भएका छन् ।
आज धरान स्थित संयुक्त निर्वाचन परिचालन कमिटि अन्तर्गत रहेको मजदुर परिचालन कमिटिको कार्यालयमा भएको बैठकले हरेक क्षेत्रमा मजदुरहरु परिचालन गर्ने निर्णय गरेको मजदुर परिचालन कमिटिका सदस्य तथा मजदुर नेता कमल भट्टराईले जानकारी दिनु भयो ।
उहाँका अनुसार मजदुर परिचालन कमिटिका संयोजक मुक्ति गिरीको अध्यक्षतामा भएको बैठकले कार्ययोजना समेत तयार गरेको छ । कार्ययोजना अनुसार यही कात्तिक २६ गतेभित्र जिफन्ट अन्तर्गत रहेका घटकहरुको बैठक सम्पन्न गर्ने, मतदान अभियान सञ्चालन गर्ने, घर–घरमा पर्चा वितरण तथा भेटघाट गर्ने, अस्पष्ट विषयहरुको प्रष्टिकरण गर्ने लगायतका कार्यक्रम बनाएको संयोजक गिरीले जानकारी दिनुभयो ।
बैठकले सुनसरी क्षेत्र नं. १ का सबै वडामा मजदुर परिचालन गर्न इन्चार्ज समेत तोकेको छ । कार्यक्रम सञ्चालन मजदुर परिचालन कमिटिका सदस्य सचिव लक्ष्मी बाँनियाले गरेका थिए । जिफन्ट राष्ट्रिय कमिटि सदस्य तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य भीमज्वाला राई प्रमुख अतिथि रहेका रहनु भएको थियो ।