धरान / नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा तीन दिनका अवधीमा धरानमा दुई करोडको फुलको कारोवार भएको छ । लक्ष्मी पूजा सोमबार, मंगलबार र आज भाइटिकाको अघिल्लो दिन कृषी उपज बजारबाट दुई करोड बरावरको फल तथा तयारी मालाको कारोवार भएको हो । 

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीहरुले माइती दाजुभाईलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्रि फलले दिदीबहिनीहरुले दाजु भाईहरुलाई बुझ्ने गरिन्छ ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार नेपालको सयपत्री फूल गत बर्षभन्दा महंगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै संख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोवार भएको थियो । १५ दिन अघि नै भारतको कोलकत्ताबाट २ लाख तयारी माला ल्याइएका थिए । नेपाली पूलका करिव दुई लाख नै माला विक्रि भएको व्यवस्थापक भट्टराईले जानकारी दिनु भयो । 

भारतीय डेढ लाख माला ५० रुपैयाको दरले विक्रि भएको छ । भने नेपाली फुलको माला औसत एक सय रुपैया परेको उहाँले बताउनु भयो । भारतीय फुलका माला सस्तो भएका कारण नेपाली फुल व्यवसायीलाई असर परेको फुल व्यवसायी भक्त राईले बताउनु भयो । 

‘यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फुलको कारोवार बढ्न गयो । तर गतब र्षको तुलनामा मूल्य वृद्धिसँगै कारोवार पनि बढेको छ ।’–व्यवस्थापक भट्टराईले भन्नु भयो । 

उहाँका अनुसार गत बर्ष एक करोड १५ लाखको फुलको कारोवार भएको थियो । भारतीय फुल न्यून आएको थियो । तर यस पटक फुलको कारोवार पनि बढेको छ । भारतबाट पनि धेरै फुल भित्रिएको उहाँको भनाई छ । बुधबार साँझसम्म बजारमा फुलको कारोवार हुदा विक्रि संखया अझै बढ्ने उहाँले बताउनु भयो ।