सुनसरी । फरवार्ड माइक्रोफाइनान्स मुलुकको अग्रणी माइक्रो फाइनान्सको रुपमा परिचित छ । तीन लाखभन्दा बढी सदस्य रहेको संस्था ४० जिल्लामा विस्तार भइसकेको छ ।

विपन्न समुदायका मानिसहरुले उक्त संस्थाको सहयोगमा उन्नति गरेका छन् । संस्थाको सक्रियतामा आर्थिक उन्नति मात्र होइन सामाजिक हिसाबले पनि सकारात्मक परिवर्तन भएको छ ।

संस्थाको नेतृत्व अग्रणी महिला भगवती चौधरीले गरेकी छन् । संस्था सुरु गर्ने क्रममा ११ जनाको टिम थियो । अहिले समग्रमा लाखौं यो संस्थासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् ।

आयआर्जनमा महिलाको पहुँच स्थापित नभएसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राख्ने चौधरीले महिलालाई आय आर्जनमा सहभागी गराउनकै लागि संस्था स्थापना गरेकी थिइन् ।

२७ वर्षअघि कांग्रेस नेता बीर नारायण चौधरीकी श्रीमती ईश्वरवती चौधरीको डेरामा पहिलो बैठक बसेर संस्था सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

पहिलो दिन बैठक बस्दा १५ जना जति महिला थिए । बोर्ड सदस्य ११ जना थिए । सुरुमा ११ जना बोर्ड सदस्यले तीन तीन सय रुपैयाँ जम्मा गरेका थिए ।

संस्थाले प्रारम्भमा गाउँका महिलाहरुलाई स्वास्थ्यसम्बन्धी तालिम दिएको थियो । चौधरीले प्रशासनिक काम गर्थिन् भने उनका श्रीमान दिनेश चौधरीले गाउँगाउँ गएर महिलाहरुलाई तालिम दिन्थे । उनी दिवंगत भइसकेका छन् ।

सुरु सुरुमा गाउँगाउँ गएर तालिम दिएका उनीहरुले पछि फरवार्डको कार्यालय स्थापना गरेर तालिम दिन थाले । सुरुआती दिनमा चौधरीले आफ्नै घरमा कार्यालय राखेकी थिइन् ।

मधेशमा सबै भन्दा ठूलो समस्या शौचालयको थियो । कसैको घरमा पनि शौचालय थिएन । युनिसेफले शौचालय बनाउने कार्यक्रम दियो चार वर्षका लागि ।

पहिला शौचालय चाहिन्छ भनेर जनतालाई मनाउनु पर्ने थियो । कति समुदायलाई त कुरा बुझाउन साह्रै गाह्रो भो । मधेसी समुदायमा बन्द कोठामा सौच गर्नैहुन्न भन्ने मान्यता थियो । कुरा बुझाउन निकै गा¥हो पर्यो ।

‘मेरै माइती गाउँ औराबनीमा पनि बनाउन सकिएन । घरमा जोडेर बनाऔं भन्दा त मान्दै नमान्ने । घर अगाडि बनाऔं भन्यौं’ भगबतीले भनिन् ।

बच्चाहरुमा कुपोषण एकदमै ठूलो समस्या थियो । पैसा नहुने तर, धेरै बच्चा जन्माउने परिवारमा यो समस्या झन ब्यापक । भगवतीले सोचिन ‘यो समस्याको समाधान जसरी पनि गर्नुपर्छ ।’

बच्चा कुपोषण हुनुको अर्को पनि कारण थियो । आमाहरुले नै गतिलो चिज खान पाएका थिएनन् । आम्दानी पनि नहुने तर, आमा र बच्चा दुवैलाई स्वस्थ बनाउनु पर्ने ।

भगबतीले उपाय सिकाइन् ‘घरमै उपलब्ध हुने  अन्नहरु गहुँ, मकै, चामल, गेडागुडी पिसेर सातु बनाउने ।’ सातु बनाउन जानेपछि धेरै आमाहरुले आफ्ना सन्तानलाई कुपोषण हुनबाट जोगाए । त्यसपछि थारु र मुस्लिम समुदायको स्वास्थ्य र परिवारमा राम्रै परिवर्तन आयो । उनीहरुको आफ्नै घरमा दाल, चामल, गहुँ हुन्थ्यो । घरमै भएको खाद्यान्ह पिँधेर सातु बनाउँथे । पोषण खानाका लागि खर्चै भएन ।

खेतीपाती गर्नेहरुले त खेती गरेर केही अन्न उत्पादन गर्थे । घरमा धान, चामल, दाल हुन्थ्यो । मुसहर टोलमा अर्को समस्या थियो । घरमा अन्न थिएन । भनेकै बेलामा काम पाइने ग्यारेन्टी थिएन । तिनलाई पनि पोषणयुक्त खानेकुरा बारे भगबती चौधरीले नै जानकारी दिइन् ।  

तराईमा खोला नदीको किनारमा एकखाले साग पाइन्छ घुँघरी । त्यो साग जसको खेतमा पनि पाइन्छ । जसको खेतमा पनि टिप्न पाइन्छ । त्यो सागमा अत्याधिक आइरन हुन्छ । मुसहर टोलमा बस्नेलाई भगबतीले सिकाइन् ‘तपाईहरुले केही पाउनु भएन भने घुँघरी टिपेर ल्याउनुस् र राम्ररी पखालेर खानुस् ।’ घुँघरी साग खान थालेपछि उनीहरुको पनि स्वास्थ्यमा सुधार भयो ।

सबैलाई थाहा थियो खाद्यान्हका लागि पैसा नभई हुन्थेन । तलिमकै क्रममा दिनेशजीलाई एकदिन भगबतीलाई भनिन् ‘हामीले तालिम दिएर मात्रै हुन्न । तालिमसँगै पैसा कमाउने तरिका पनि सिकाउनुपर्छ ।’ त्यसपछि नै सुरु भएको हो फरवार्ड ।

माइक्रोफाइनान्स हुनुअघि संस्था सामाजिक कार्यमै सक्रिय थियो । विभिन्न संघ संस्थाबाट पैसा लिने र समुदायलाई सिकाउने काम जारी थियो । सिलाई कटाई तालिमबाट महिलाको जीवनस्तरमा आएको परिवर्तन वास्तवमै उत्साह जनक छ ।

समाज कल्याण परिषदबाट सिलाई कटाईका लागि संस्थाले ५० हजार रुपैंया पायो । त्यहि पैसाले तालिम दिनुपर्ने, मेसिन किन्नुपर्ने सम्भव थिएन । बेस भन्ने संस्थासँग पुरानो मेसिन मेसिन थियो । भगबतीले आफ्नै पहलमा मेसिन ल्याइन् र महिलालाई सिलाई कटाई तालिम दियो संस्थाले ।

औरावनीको भमरी भन्ने ठाउँमा संस्थाले सिलाई कटाई तालिम सुरु गरेको थियो । त्यहीका लिला यादबलाई सिलाई कटाई सम्बन्धी ज्ञान रहेछ । उनकै पहलमा तालिम सम्पन्न भयो । उक्त समयमा तालिम लिएका मध्ये ४र५ जना महिला अहिले टेलरिङ सेन्टर खोलेर बसेका छन् । उनीहरुको जीवनस्तर निकै राम्रो छ ।

संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।

जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।

‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे’ चौधरी विगतका संघर्षका कुरा सम्झँदै भन्छिन् ।

बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए । हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो । Nepal Aaja