धरान / आमचोक सरोकार समाज सुनसरीले मानव सेवाका लागि एम्बुलेन्स खरिदका लागि अभियान चलाउने भएको छ । आमचोक गाउँपालिका भोजपुर थातथलो भएर सुनसरीका विभिन्न पालिकामा बसोवास गदैं आएका व्यक्तिहरुको संस्था समाजले शनिवार धरानमा बैठक बसी यस्तो निर्णय गरेको हो ।
समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आमचोकवासीका लागि सौलियतमा एम्बुलेन्स सेवा दिन संस्थाको नेतृत्वमा खरिद गर्न लागिएको हो । एम्बुलेन्सका लागि समाजसेवी बालकुमारी राईले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै धरान–६ का व्यवसायी प्रकाश श्रेष्ठले २५ हजार ५ सय ५५ र पत्रकार रणध्वज लोहारले ५ हजार नगद सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै काठमाडौं निवासी सुशिला राई र बराहक्षेत्र– ७ का टेकबहादुर बिष्टले पनि २० हजार ५०० सहयोग गर्ने बताउनु भएको छ ।
यही आर्थिक भित्र देशविदेशमा रहनु भएका आमचोकबासी र अन्य सहयोगीहरुको सहयोगमा संस्थाबाट एम्बुलेन्स खरिद गरिने अध्यक्ष राईले जानकारी दिनु भयो । उहाँले देश विदेशमा रहनुहुने महानुभावलाई सहयोगका लागि अपिलसमेत गर्नु भएको छ । एम्बुलेन्स सञ्चालनका लागि आमचोक गाउँपालिकाले पनि सहयोग गर्ने पालिका अध्यक्ष अशोक राईले जानकारी दिनु भयो ।
संस्थाले आमचोक र सुनसरीलाई जोड्ने पुलको काम गदैं आएको संस्थाका उपाध्यक्ष उत्तम राईले जानकारी दिनु भयो । आमचोकबासीलाई आपत विपत पर्दा, प्राकृतिक प्रकोपका घट्नामा समाजले सहयोग गदैं आएको छ । अध्यक्ष राईका अनुसार कोरोनाको समयमा आमचोक घर भई झापा मोरङ, सुनसरी, धनकुटामा भएका ४२ परिवार एक लाख ६ हजार बरावरको खाद्यन्न सामाग्री वितरण गरेको थियो । अस्पतालमा उपचार गर्न आर्थिक समस्या भएका परिवारलाई समेत आर्थिक सहयोग गदैं आएको समाजका सचिव देवेन्द्र कार्कीले जानकारी दिनु भयो ।