धरान / एकातिर सुकुम्बासी बस्तीको जर्जर अवस्था, अर्कातिर पेट फुलेर अकालमा थलिएर ओछ्यानमा लडिरहेका ४० वर्षीय रोशन राई। उनी यस्तो अवस्थामा छन्, जुन बेला अस्पतालको सघन उपचार कक्षमा हुनुपर्ने हो — तर आर्थिक अभावले घरमै, झुपडीको कुनामा, रोगसँग एक्लै जुधिरहेछन् 

धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आएका राईको पेट फुलेको छ, शरीर हाडछाला मात्र बाँकी छ, अनुहार मलिन छ। छेउमा उनकी श्रीमती शान्ति तामाङको आँखा आँसुले भरिएको छ, छोरी शिवानी राई चुपचाप बाबुको स्याहारमा छिन । 

जीवन संघर्षको कथा

चारकोशे झाडीबाट दाउरा काटेर धरान बजारमा बेच्ने उनको दैनिकी अब विगत बनेको छ। बिहानै जंगल छिर्थे, साँझ भारी बोक्थे। यही कमाइले तीन जनाको परिवार चलेको थियो। श्रीमती घरको काम गर्थिन्, छोरीले पढाइमा मन लगाएको थिइन । तर, वैशाखदेखि जण्डिसले सताउन थालेपछि उनको स्वास्थ्य बिग्रँदै गयो । मृगौलामा पथरी देखियो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म उपचारको प्रयास गरे। चिकित्सकहरूले लिभर फेर्नुपर्ने बताए — खर्च अनुमान १५ लाख रुपैयाँ । त्यो जुटाउने हैसियत नभए पछि  उनी मृत्यु कुरेर बसन बाध्य भए ।

‘डाक्टरले भने अनुसारको औषधी किन्न सकिएको छैन, लिभरको ट्याबलेट मात्रै खुवाउँदैछु ।’–श्रीमती शान्तिले भनिन । छोरी शिवानी भन्छि–‘बाबाको स्याहार गर्न आमालाई समय दिनुपर्छ, पढाइमा पनि असर परेको छ।’ 

सहयोगको आशा

मंगलबार बिहान पीडित परिवारको झुपडीमा पुग्दा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष एवं मजदुर नेता भीमज्वाला राईले रोशनको अवस्थाबारे जानकारी लिए। ‘उहाँको उपचारमा सहयोग गर्न हामीले अभियान सुरु गरेका छौं ।’– नेता राईले भने –‘“कमसेकम उपचार गरेर उहाँलाई फेरि दाउरा बेच्न सक्ने अवस्थामा ल्याउन सके, श्रीमती र छोरीको जीवन पनि सहज हुन्छ।’

यो कुनै काल्पनिक कथा होइन, धरानको एक झुपडीभित्र चलिरहेको निरन्तरको पीडा र आशाको संघर्ष हो। रोशन जस्तै मेहनती मजदुरको जीवन अस्पतालको सिटिजन कार्ड होइन, हाम्रो सामूहिक सहयोगले बाँच्न सक्छ।