धरान / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथासक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो ।
यसैगरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानीको वातावरण बिग्रिएकाले सुरक्षाव्यवस्था सुनिश्चित गर्न र विद्युत् कटौतीसम्बन्धी समस्या समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।
सुनसरी उवासंघको पनि ध्यानाकर्षण
कोशी प्रदेशका औद्योगिक हब मानिने सुनसरी–मोरङ क्षेत्रका उद्योगहरूको विद्युत कटौती प्रति सुनसरी उद्योग बाणिज्य संघ धरानले साचो व्यक्ति गरेको छ ।
नियमित लोडसेडिङले उद्योगधन्दा पुनरुत्थानको सङ्घारमै धक्का लागेको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले विज्ञप्ति जारी गरि आपत्ति जनाएको छ ।
सङ्घका अध्यक्ष गोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘आर्थिक मन्दी, कच्चा पदार्थको मूल्यवृद्धि, कर प्रशासनको झमेला, ढुवानी सङ्कट र बजार सङ्कुचनले उद्योगहरूको अस्तित्व नै जोखिममा छ । यस्तो संवेदनशील अवस्थामा विद्युत् आपूर्ति कटौती गर्नु उद्यमीप्रति घोर अन्याय हो ।’
कच्चा पदार्थ आयातदेखि उत्पादन र बजारसम्मको आपूर्ति शृङ्खलामा देखिएको जटिलता, उत्पादन लागतको असह्य वृद्धि र अब विद्युत् कटौतीले उद्योगहरूलाई ठूलो आर्थिक क्षति पुगेको जनाइएको छ ।
संघले औद्योगिक क्षेत्रका लागि अविच्छिन्न विद्युत आपूर्ति गर्नु पर्ने, तत्काल लोडसेडिङ नीति पुनरावलोकन गर्नु पर्ने, उद्योगमैत्री विद्युत वितरण प्रणाली विस्तार गर्नु पन, वैकल्पिक ऊर्जा परियोजनामा सहजीकरण गर्नु पर्ने माग गरेको छ ।


















