भोजपुर / रामप्रसादराई गाउँपालिका–६, वैकुण्ठेमा ‘सुन्तला–कागती फलफूल सिकाइ केन्द्र’ स्थापना गरिएको छ। व्यावसायिक फलफूल खेतीमा लागेका किसानलाई प्रविधि र सीपमा दक्ष बनाउन यो केन्द्र स्थापना गरिएको हो।
वडाध्यक्ष एकराज आचार्यका अनुसार वैकुण्ठे क्षेत्र सुन्तला तथा अन्य फलफूल खेतीका लागि उपयुक्त भएकाले वडाको बजेटबाट सिकाइ केन्द्र स्थापना गरिएको हो। “यहाँको हावापानी, भूगोल र माटो सुहाउँदो बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरिएको हो,” वडाध्यक्ष आचार्यले भन्नुभयो।
गएको आर्थिक वर्षमा वडाले रु १ लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उहाँले जानकारी दिनुभयो।
वैकुण्ठेका धेरै किसान व्यावसायिक सुन्तला खेतीमा संलग्न छन्। तर, खेतीसम्बन्धी प्राविधिक जानकारीको अभावमा समस्या देखिन थालेपछि प्रयोगात्मक तालिम दिन केन्द्र खोलिएको वडाध्यक्ष आचार्यले बताउनु भयो ।
किसानकै सक्रियतामा सुन्तलाको नर्सरी पनि सञ्चालन गरिएको छ। दुईवटा टनेलमा बिरुवा उत्पादन भइरहेको र ती बिरुवा किसानलाई वितरण गरिने स्थानीय किसान राजेन्द्रकुमार राईले बताउन ुभयो । “हामीले कृषि प्राविधिकको निगरानीमा खेती प्रविधिको ज्ञान पाइरहेका छौँ,” उनले भने, “रोग तथा किराको समाधानबारे पनि सिक्न पाएका छौँ।”
गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरका अनुसार सिकाइ केन्द्रमार्फत किसानलाई प्रत्यक्ष अभ्यास गराएर खेती प्रविधिको तालिम दिइँदैछ। “रोग, कीरा प्रकोप र खेती प्रणालीबारे व्यावहारिक जानकारी दिइन्छ,” ठाकुरले बताए, “अभ्यासमा आधारित तालिम भएकाले यो कार्यक्रम किसानका लागि प्रभावकारी देखिएको छ।”