धरान / धरानको पर्यटकीय गन्तव्य भेडेटार नजिक सूर्योदय बुद्ध विहारले १ सय ७५ फिट उचाईको थाउजेण्डस् विग बुद्धको प्रतिमा सहित भव्य बुद्ध अध्ययन केन्द्र निर्माण गर्ने भएको छ ।
त्यसका लागि धरान उपमहानगरपालिकाबाट विहारले बैधानिकतासमेत प्रापत गरेको छ । भेडेटार नजिकै छोटीमोरङ थुम्की डाडामा बनाउन लागिएको अध्ययन केन्द्रका लागि सूर्योदय बुद्ध विहारका तर्फबाट अध्यक्ष प्रदीप थापा मगर र उपमहानरपालिकाका तर्फबाट प्रमुख तारा सुब्बाले १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विग बुद्ध प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ला वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले छ महिना अघि नै १५ विगाहा ८ कट्टा जग्गा सूर्योदय बुद्ध विहारलाई धार्मिक वन अन्तर्गत उपलव्ध गराउने निर्णय गरिसकेको थापाले जानकारी दिएका छन् ।
थाउजेण्ड विग बुद्ध निर्माणका लागि सरकारबाट जग्गा उपलव्ध भइसकेकाले स्थानीय तहमा गर्नु पर्ने गुरु योजना, आर्थिक संकलन, निर्माण, डिजाइन, व्यबस्थापनका लागि धरान उपमहानगरपालिकासंग सम्झौता गरिएको थापाले जानकारी दिएका छन् ।
उनका अनुसार बुद्धको प्रतिमा पाँच वर्ष्भित्र निर्माण गरिसक्ने सम्झौता भएको छ । परियोजनाको लागत १ अर्व ३० करोड रुपैयाँ रहेको छ । विग बुद्धको प्रतिमा निर्माण गरेर बुद्ध अध्ययन केन्द्र स्थापनाकालागि थाइल्याण्ड राजाका राजगुरु तथा राजपरिवारका सल्लाहकार फारा सास नासोभनले बढी रुची देखाएका छन् ।

छोटीमोरङ नजिकैको नाम्जेस्थित वुद्ध विहारका भिक्षु मेधाङ्कर (नारायणवहादुर आले) थाइल्याण्डका राजगुरु नासोभनसँग थाइल्याण्डमै बौद्ध धर्म सिद्धान्त अध्ययन गरेका बेला थाउजेण्ड विग बुद्ध बनाउने परियोजनाको परिकल्पना भएको बताइएको छ । राजगुरुले ‘बुद्धको जन्मस्थल नेपालमा थाउजेण्ड विग बुद्ध बनाउन पुण्य कर्म हुने भएकाले के कति खर्च लाग्छ त्यसकालागि धेरै भन्दा धेरै सहयोग गर्ने’ बचन दिएका थिए ।
‘थाउजेण्ड वीग बुद्ध’को १ सय ७५ फुट अग्लो प्रतिमा निर्माण गर्न गतबर्ष पुर्वसभामुख ओनसरी घर्ती मगर र थाइल्याण्डबाट आएका राजगुरु नासोभनले संयुक्त रुपमा एक बर्ष अघि शिलान्यास समेत गरिसकेका छन् । तर वनसँग अनुमति नलिई शिलान्यास गरेको भन्दै विावदमा आएको थियो ।
विग बुद्धको इन्जिनियरिङ आर्किटेक्ट डिजाइन राजकुमार शाक्य र मुर्तीकार अनील शाक्यले गरेका छन् । उनीहरुले हङकङको लान्ताउ टापुमा निर्मित वीग बुद्ध र हङकङकै शातिङमा भएको टेन थाउजेण्ड विगबुद्धको प्रतिमा जस्तै धरानको छोटीमोरङमा डिजाइन तयार गरेका छन् । थापाका अनुसार हङकङको वीगवुद्ध अवलोकन गर्न दैनिक २० हजार बढी पर्यटक पुग्ने गर्छन् र त्यहाको सरकारले पर्यटकबाटै बार्षिक करोडौं हङकङ डलर आम्दानी गर्ने गरेको छ ।
प्रदीप थापाले भने, ‘निर्माणस्थलको माटो परीक्षण भइसकेको छ । अव डिपिआर र वातावरण प्रभाव मुल्याङ्कनको रिपोर्ट आउन बाँकी छ । त्यसपछि भौतिक निर्माणको काम सूरु हुन्छ ।’ उनले हङकङ, थाइल्याण्ड, बर्माका बौद्ध गुरुहरुले विग बुद्ध प्रतिमा निर्माण गर्न आर्थिक सहयोग गर्ने बताएकाले परियोजनालाई अगाडि बढाएको बताए । हङकङको विग बुद्धको उचाई १ सय ११ फुटको मात्र रहेको छ । छोटीमोरङ डाडाको विग बुद्धको प्रतिमा निर्माण सम्पन्न भएमा ६६ फुट बढी अग्लो हुने बताइएको छ ।
थाउजेण्ड वीग बुद्ध परियोजना पाच बर्ष भित्र पुरा गर्न सके पूर्वको पर्यटनमा व्यापक परिवर्तन आउन सक्ने आशा गरिएको छ । पर्यटक आकर्षित गर्नका उनका अनुसार हालसम्म परियोजनाको कागजपत्र दर्ता, पहाडी डाडाको ठाँउ सम्याउन डोजर स्काभेटर प्रयोग, डिजाइन, डमी, आर्किटेक्ट तयारी गर्नका लागि ६० लाख रुपैया खर्च भइसकेको छ । ती खर्चहरु सवै थापा र भिक्षु मेधांकरको व्यक्तिगतरुपमा खर्च भइरहेको उनले बताए ।
उपमहानगरपालिकाका प्रमुख सुब्बाका अनुसार आन्तरिक आय श्रोत बढाउन पर्यटनलाई प्राथमिकता दिएको छ । परियोजना सम्पन्न भएपछि सूर्योदय बुद्ध विहारको विग बुद्ध अवलोकन गर्न आउने पर्यटकबाट प्राप्त आम्दानी विहार व्यबस्थापन समितिले गर्ने र बांकी रहेको रकम धरान उपमहानगरपालिकाको समन्वयमा शिक्षा, स्वास्थ्य र जलाधार क्षेत्र र वातावरण संरक्षणमा खर्च गर्नै सम्झौता गरिएको छ ।