धरान / छिपुट घट्ना बाहेक देशभर पहिलो चरणको मतदान सम्पन्न भएको छ । ताप्लेजुङका सबै मतदान स्थलका केन्द्रहरुमा पनि शान्तिपुर्ण रुपमा मतदान भएको छ । ७३ मतदान स्थल रहेको ताप्लेजुङका १ सय १४ केन्द्रमानै मतदानका लागि मतदाताको उत्साहपुर्ण रुपमा सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताएका छन् ।
ताप्लेजुङको विकट तथा अति दुर्गम स्थानमा रहेको फक्ताङ्लुङ गाउँपालीकाको याङ्मा, ग्याब्ला, घुन्सा र ओलाङ्चुङगोलामा पनि समयमानै मतदान सुरु भएको थियो ।
हिजो सदरमुकाम स्थित भानु जन माविमा रहेको मतदान स्थलमा बुथ निर्माणको क्रममा विश्फोट भए पछि सो स्थानलाई सोहि विद्यालयको अर्को खेलमैदानमा सारी सुरक्षित रुपमा मतदान भईरहेको र अन्य केन्द्र र स्थानको पनि सुरक्षा व्यवस्था मजबुत भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले बताए । सबै स्थानमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीसहित म्यादि प्रहरी परिचालन गरीएको उनले बताए ।
ताप्लेजुङको माथिल्लो दुर्गम हिमाली गाउँपालिकामा रहेको चार स्थानको मतपेटिका भोली सोमबार मात्रै सदरमुकाम ल्याईने बताइएको छ । सबै स्थानको मतपेटिका आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतको चारवटा कोठामा सिलबन्दि गरी राख्ने तयारी भएको छ ।