धरान / कांग्रेस जस्तो दक्षिणपन्थी पार्टीसँग मतदाताहरु अल्मलिन आग्रह गदै्र आफ्नो मताधिकार सहीरुपमा प्रयोग गर्न नेकपा एमालेका पार्टी सचिव एवं सुनसरी क्षेत्र नं १(ख)का प्रदेशसभा उम्मेदवार भीम आचार्यले आग्रह गरेका छन् ।
आइतबार धरान–११ स्थित वाम गठबन्धनको संयुक्त वडा कार्यालय र घरदैलो अभिायनको उद्घाटन कार्यक्रममा बोल्दै नेता आचार्यले अलमलमा परिरहेका मतदाताहरुलाई पनि बामपन्थीहरुसँगै ल्याउन स्थानीय नेता, कार्यकर्ताहरुसँग पनि आग्रह गरेका छन् । कांग्रेसले पटक पटक बहुमत ल्याएर पनि देश र जनताको हितमा काम गर्न नसकेको प्रष्ट भएर पनि ती मतदाताहरु लागि त हालियो भन्दै कांग्रेसको दक्षिणपन्थी कित्तामा उभिन पुगेको नेता आचार्यको भनाई थियो । ‘दक्षिणपन्थी पार्टीहरुमा अलमलिरहेका मतदाताहरुलाई पनि मत माग्ने, आफुतिर ल्याउने गर्नुपर्छ,’नेता आचार्यले भने,‘कांग्रेसले केही गरेको छैन, तर हिजोको दिनमा लागि हालियो भनेर मतदाताहरु बसिरहेका छन् । उहाँहरुलाई मतको सदुपयोग गर्न सम्झाउनुपर्छ, र देशको विकास गर्ने पार्टीलाई मत हाल्न लगाउनुपर्छ ।’
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले ३० बर्षसम्म कांग्रेसले नेपालमा सत्ता चलाएर गरिबि, अशिक्षा, भ्रष्टचार, बेरोजगारी मात्र बढाएको भन्दै अब बामपन्थी गठबन्धनको बहुमतको सरकारले ५ बर्षभित्रमा नै विकास र समृद्धिको खाका कोर्ने बताए । गठबन्धनको काम देखेर जनताले निरन्तर चुनावबाट बहुमत दिलाउने र २० बर्षभित्रमा नै धनि, समुन्नत राष्ट्र नेपाल बनाउने पनि मेन्याङबोले दाबी गरे । ‘कांग्रेसले ३० बर्षसम्म सत्तामा बसेर देशलाई लुट्यो, गरिबि र अबिकसित अवस्थामा पुर्यायो, तर अब हामी बामगठबन्धनको बहुमतको सरकारे १५, २० बर्षमा नै मुलुकलाई समुन्नत अवस्थामा पुर्याउछौं,’उनले भने ।
कांग्रेसले धरासायी बनाएको उद्योग कलकारखानाहरुलाई पुर्नस्थापित गर्दै उत्पादन बढाउने, रोजगारी सृर्जना गर्ने, आर्थिक वृद्धिदरसँगै देशभर विकासको लहर ल्याउने मेन्याङबोले बताए । यसको लागि बामगठबन्धनलाई जनताले स्पष्ट बहुमत दिलाउन आवश्यक भएको पनि उनले मतदाताहरुलाई स्मरण गराए । ‘संविधान निर्माणपछि कार्यान्वयनको चरण छौं, देश नयाँ युगमा पाइला टेकेको छ, अब हामी एकढिक्का भएर देशलाई गन्तव्यमा पुर्याउनुपर्छ, समुन्नत, समृद्ध, धनी राष्ट्र बनाउनुपर्छ’उनले भने ।
कार्यक्रममा एमालेकी समानुपातिकतर्फकी उम्मेदवार सावित्री श्रेष्ठ र माओवादी केन्द्रकी उम्मेदवार उमिता बराइलीले पनि मन्तव्य व्यक्त गरेकी थिइन् । दुवै उम्मेदवारले पनि बामपन्थीहरु एकजुट हुदा देशको विकास हुने र जनतालाई पनि राहत पुग्ने भन्दै समानुपातिकमा आफ्नो इच्छा, आस्थाअनुसार सुर्य वा गोलाकारभित्र हसिया हथौडामा मतदान गर्न आग्रह गरे । प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभामा भने सुर्यमा मात्र मत हाल्न दुवैको आग्रह थियो । कार्यालय उद्घाटनपछि उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रम गरेका थिए ।