इटहरी / नेपाली कांग्रेसका ‘हेविभेट’ नेता विजयकुमार गच्छदारलाई यसपटक आफ्नै गृह जिल्लामा निर्वाचन जित्न कठिन देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीसँग झिनो मतान्तरले विजयी भएका गच्छदारलाई यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पुनः चौधरीले खुल्ला चुनौति दिएकी छिन् । बाम गठबन्धनबाट सर्वसम्मत प्रतिनिधिसभा निर्वाचनमा उठेकी चौधरीलाई महिलाहरुकै भोटबाटपनि विजय सुनिश्चित देखेपछि ‘गच्छदार’लाई आफ्नो चार दशक लामो विराशत जोगाउन कठिन देखिएको हो ।
०४८ साल यताका प्रायः सरकारमा उपप्रधानमन्त्री सहित १२ पटक बढि मन्त्री बन्न सफल गच्छदारले सत्तामा रहँदा आफ्नै क्षेत्रका लागि कुनै गतिलो काम नगरेपछि त्यसकै फाइदा लिँदै यसपटक भगवती चौधरीले आफ्नो पक्षमा जनमत निर्माण गरिरहेकी छिन् ।
चौधरीको महिला शसक्तिकरण र लघुवित्त कार्यक्रमबाट गाउँगाउँका २७ हजार बढि महिला लाभान्वित भईरहेको अवस्थामा निर्वाचनको संघारमा आफैंले स्थापना गरेको फोरम लोकतान्त्रिक परित्याग गरी गच्छदार आफ्नो विरासत जोगाउनकै लागि भनेर नेपाली कांग्रेसमा फर्किएका थिए । उनी पुनः कांग्रेसमा फर्किएपछि कतिपय पुराना कांग्रेसीहरु पार्टी पंङ्तीबाटै रुष्ट छन् । भने, फोरमलाई धोका दिएको भन्दै कतिपय फोरमका सहकर्मीहरु गच्छदारलाई ‘गद्दार’ को संज्ञा दिँदै हराउन लागि परेका छन् ।
यता महिला नेतृ चौधरीलाई भने, कांग्रेस र फोरम भित्रको आन्तरिक विवादले प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । देशभर बाम गठबन्धनको सकारात्मक छाप परिरहेको बेला यो क्षेत्रमा पनि बाम गठबन्धनबाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेद्वार बन्न सफल हुनुभएकी चौधरीको बहुमतले जित सुनिश्चित देखिएको छ ।
स्थानीय स्तरमा छरिएर रहेका साना पुँजिलाई महिलाहरुमार्फत समुदायमा लघुवित्त कार्यक्रमबाट लगानी गर्दै उनीहरुको जिवनस्तर उकास्न गरेको प्रयासलाई सम्झँदै यसपटक यहाँका अधिकांश महिलाहरु चौधरीको पक्षमा मतदान गर्ने मनस्थितिमा पुगेका छन् । ३ नं. क्षेत्रको कूल मतदाताको करिब ४५ प्रतिशत बढि मतदाता महिलाहरु रहेकोले उनलाई अधिकांश महिलाहरुले भोट दिने आंकलन गरिएको छ । ‘विगतमा १२ पटकभन्दा बढि सरकारमा गएका गच्छदारले यो क्षेत्रको विकासका लागि केहि गर्न सकेनन् । त्यहि भएर यहाँका जनता परिवर्तनको पक्षमा छन् ।’ नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरी भन्छिन् । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा आफुलाई राज्य संयन्त्र नै लागेर हराएको बताउँदै चौधरी यसपटक आफ्नो जित सुनिश्चित भएको दावि गर्छिन् । ‘यहाँका जनतालाई सबै थाहा छ मलाई ०७० सालमा कसरी हराईयो, यसपटक गच्छदारलाई दशौं हज्जार भोटले हराउने छु ।’
उनले आफ्नो उम्मेद्वारी सबै उत्पीडित, दलित, गरिब महिलाहरुका लागि भएको भन्दै यस पटकपनि यहाँका जनताले नेतृत्व परिवर्तन नगरे सो क्षेत्रको विकास कहिल्लै नहुने ठोकूवा गर्छिन् । ‘हामीले दुहवी बजार अघिल्तिर भएको कालोपत्रे मात्र हेरेर हुन्न । गाउँ–गाउँमा शौचालय समेत नभएको अवस्थालाई हेर्नुपर्दछ । ५ पटक यातायात मन्त्री भएको ब्यक्तिले आफ्नै क्षेत्रमा कत्ति सडक बनाए खोज्न जरुरी छ ।’
उनले चुनाबका बेला आएर घरघरमा रक्सी र पैसा बाँडेर भोट किन्ने गच्छदारको योजना यसपटक असफल हुने दावि गरिन् । ‘विगतमा जस्तो अहिलेको अवस्था छैन, कि जनताको टाउको गनेर भोटको दाम राखियोस् । कहिले कता कहिले कता छेपारोको जस्तो रंग बदलिइरहने सिद्धान्त र नैतिकता विहिन ब्यक्तिलाई जनताले चिनिसके ।’
सुनसरीको चारओटा क्षेत्र मध्ये यो क्षेत्र विकासका दृष्टिकोणले निक्कै पछाडी परेको छ । यो क्षेत्रबाट ०४८ साल यताका सबै संसदीय निर्वाचनमा विजयकुमार गच्छदारले जितेपनि स्थानीय विकासका लागि उनले केहि गर्न सकेका छैनन् । पटकपटक भौतिक तथा योजना मन्त्री तथा यातायात मन्त्री समेत भएका गच्छादारले आफ्नै क्षेत्रका रिङ रोड, ग्रामिण सडक, ब्यवस्थित शहर विकास गर्ने तथा पुल कल्भर्ट निर्माणका ठूला योजना ल्याउन नसक्दा यहाँका ग्रामिण भेगका जनताहरु विकासका सामान्य पूर्वाधारबाट समेत बञ्चित छन् ।
अहिले सुनसरी क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका १० ओटा वडाहरु वडा नं. ६,७,८,९,१०,११,१२,१३,१४,१५ पनि गाभिएका छन् । यसवाहेक गढी गाउँपालिका सबै वडा, दुहवी नगरपालिकाको सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा, इनरुवा नपाको वडा नं. ७ समेत रहेका छन् । यी क्षेत्र मध्ये गढी गाउँपालिका, बर्जु गाउँ पालिकाका अधिकांश भित्री वडाहरुमा कुनै विकास भएका छैनन् भने, शैक्षिक हिसाबले यी क्षेत्रमा गुणस्तरीय शिक्षा दिने कुनै कलेज तथा प्राविधिक कलेज नहुँदा सर्वसाधारण जनताका छोराछोरी दुहवी, विराटनगर, इटहरीमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य छन् । लामो समयदेखि महिला अधिकार र महिला आर्थिक शसक्तिकरण अभियानमा लाग्नु भएकी नेतृ चौधरीले सो क्षेत्रमा प्राविधिक शिक्षालय तथा उच्च शिक्षाका लागि सामुदायिक स्तरबाटै गुणस्तरीय कलेज स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।
सुनसरी क्षेत्र नं. ३ मा १,०९,९१७ मतदाता संख्या रहेको छ । जसमा महिलाको संख्या ५३,६९४ र पुरुषको संख्या ५६,२२३ छ । निर्वाचन आयोगले यो क्षेत्रका लागि ४४ मतदान स्थलमा १२५ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेशसभा (क) मा ५३,५१० मतदाता रहेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. वडा नं. ६ देखि १५, गढी गाउँ पालिका वडा न. १, दुहवी नगरपालिकाको वडा न. २,३,४,८,९ र इनरुवा नगरपालिकाको वडा नं. ७ रहेका छन् । प्रदेश नं. (ख) मा गढी गाउँ पालिकाको वडा नं. २ देखि ६, बर्जु गाउँपालिका, दुहवी नपाका वडा नं. १,५,६,७,१०,११ र १२ वडा रहेका छन् । प्रदेश (ख)मा ५६,४०७ मतदाता संख्या रहेको छ । जसमा पुरुषको संख्या २९,७८८ र महिलाको २६,६१९ रहेको छ भने २५ मतदान स्थल र ६५ मतदान केन्द्र निर्धारण गरिएको छ ।